विराटनगर । ट्रंक र डेडिकेटेड लाइन प्रयोग गरेवापत नेपाल विद्युत प्राधिकरणलाई तिर्न बाँकी देखाइएको बक्यौता महसुल विवादका कारण विद्युत लाइन काटिएपछि १८ दिनदेखि बन्द रहेको सुनसरीको रिलायन्स स्पिनिङ मिल्सले प्राधिकरणमा रकम बुझाएर उद्योग सुचारु गर्ने तयारी गरेको छ ।
उद्योगले सम्भवत आजै प्राधिकरणलाई बक्यौता रकममध्ये पहिलो किस्ता बुझाउने तयारी गरेको हो । बक्यौता भुक्तानीका लागि प्राधिकरणले २८ किस्तामा तिर्न सक्ने गरी किस्ताबन्दी सुविधा उपलब्ध गराएको छ । त्यस अनुसार रिलायन्सले झण्डै २ करोड ६८ लाख रुपैयाँ धरौटी रकम बुझाउने तयारी गरेको हो ।
नेपाल उद्योग वाणिज्य महासंघको समन्वयमा उद्योगीहरुले पहिलो किस्ता बराबरको रकम बुझाएर मुद्दा लड्ने र न्यायलयले दिने अन्तिम फैसला बमोजिम अगाडि बढ्ने विषयमा सरकारसँग सहमती बनेको थियो । सोही सहमति बमोजिम रकम बुझाएर उद्योग सञ्चालन गर्ने तयारी भइरहेको रिलायन्स स्पिनिङ मिल्सका व्यवस्थापक महेश पोखरेलले जानकारी दिए । उनले भने, ‘लामो समयदेखि उद्योग बन्द हुँदा मजदुरहरु समस्यामा परिसकेका छन्, तत्कालै अदालतबाट मुद्दा टुंगो लाग्ने सम्भावना पनि छैन र सरकारले अन्य ढंगबाट समाधान खोज्ने अवस्था पनि देखिएको छैन, यस्तो बेलामा महासंघसँग भएको सहमति बमोजिम नै अगाडि बढ्नु पर्नेजस्तो देखिएको छ ।’
लाइन काटेका कारण उद्योगको उत्पादन ठप्प भएको छ जसले गर्दा नेपालको अर्थतन्त्रमै असर परेको छ । नागरिकहरुको रोजगारी गुम्नेदेखि राजस्वसमेत गुमिरहेको अवस्थामा समस्याको दीर्घकालीन समाधान खोज्न उद्योगीहरुले न्यायिक आयोग गठन गर्न भन्दै धरौटीको रुपमा रकम तिर्न तयार भएका हुन्। उनीहरुले प्रयोग गर्दै नगरेको विद्युतको महशुल नतिर्ने अडान राखिरहेका छन् । त्यसका लागि उनीहरुले प्रमाणित बिल मागिरहेका छन् । तर प्राधिकरणले टिओडी मिटर बमोजिमको बिल उपलब्ध गराउन सकेको छैन ।
सात वर्षदेखि जारी डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल विद्युत प्राधिकरणले कात्तिक ३ गतेदेखि २५ वटा ठूला उद्योगको लाइन काटिदिएको थियो । त्यसमध्ये चार वटा उद्योगले धरौटी रकम बुझाएर लाइन जोडिसकेका छन् भने आज रिलायन्स स्पिनिङ मिल्सले पनि धरौटी रकम बुझाउने तयारी गरेको छ ।

