वामपन्थी एकता : विचार, व्यवहार र चुनौतीहरू

वामपन्थी एकता : विचार, व्यवहार र चुनौतीहरू

✍️ दुर्गा चौलागाईं ।

विषय प्रवेश

नेपालको राजनीतिमा वामपन्थी आन्दोलनले ऐतिहासिक महत्व राख्छ। जनआन्दोलन, लोकतान्त्रिक आन्दोलन, संघीय गणतन्त्रको घोषणा र संघीयताको कार्यान्वयनजस्ता परिवर्तनका पृष्ठभूमिमा वामपन्थी दलहरूको निर्णायक भूमिका रहँदै आएको जगजाहेर तथ्य हो। तर आज वामपन्थी राजनीति सत्ता–केन्द्रितता र व्यक्तिवादका कारण आन्तरिक विभाजन, विचार–शून्यता र अनावश्यक प्रतिस्पर्धाको जालोमा फँसेको सर्वविदित छ। यसको परिणामस्वरूप जनता र कार्यकर्तामा तीव्र असन्तुष्टि र आक्रोश दिनानुदिन बढ्दो देखिन्छ। पछिल्ला केही दिनयता नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका वाम शक्तिहरूबीच पुनः एकताको प्रयासले आशाको सञ्चार त गरेको छ, तर यस एकतालाई सार्थक र परिणाममुखी बनाउनु आजको मुख्य चुनौती बनेको छ।


१. ऐतिहासिक पृष्ठभूमि

नेपालमा वामपन्थी आन्दोलनको औपचारिक सुरुवात २००७ सालको जनक्रान्तिपछि भएको हो। त्यसयता विभिन्न विचारधारात्मक र संगठनात्मक भिन्नताले वाम शक्तिहरू बारम्बार टुटफुट र विभाजनमा परे। दस वर्ष लामो सशस्त्र वर्गसंघर्षले उत्पीडित वर्ग, जाति, क्षेत्र र लिंगबीच एकताको भावनात्मक सम्बन्ध त विस्तार गर्‍यो, तर वामपन्थी केन्द्रको रूपमा स्थायित्व कायम गर्न सकेन।

२०७५ सालमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भएको ऐतिहासिक एकताले वाम स्थायित्वको आशा जगाएको थियो। तर नेतृत्वको असक्षमता, सत्ता–केन्द्रित स्वार्थ, दम्भ र अहंकारका कारण त्यो एकता लामो समय टिक्न सकेन र अन्ततः विघटनमा पुग्यो। त्यसपछि वाम राजनीति पुनः स–साना “नाङ्ले पसल” जस्तै संगठनात्मक विभाजनमा फँस्यो र एक–अर्कालाई असली साबित गर्ने प्रतिस्पर्धामा सीमित रह्यो।

२. वाम एकताको आवश्यकता

नेपालको समकालीन राजनीतिक परिदृश्यमा वाम शक्तिहरूबीचको एकता केवल दलगत स्वार्थका लागि मात्र होइन, ऐतिहासिक राष्ट्रिय आवश्यकता पनि हो। देशमा आर्थिक असमानता, बेरोजगारी, वैदेशिक निर्भरता र सुशासनको कमजोरी गहिरिँदै जाँदा वाम शक्तिको विभाजनले जनतामा नैराश्यता सिर्जना गरेको छ।

वामपन्थी शक्तिहरूले मार्क्सवाद, लेनिनवाद र माओवादको आलोकमा वैज्ञानिक समाजवादको लक्ष्य राखी जनअपेक्षा अनुरूपको पार्टी निर्माण गर्नु आजको आवश्यकता हो। विगतमा दलहरूले सत्ता–केन्द्रित प्रतिस्पर्धा गर्दा मूल विचारधाराको आधार कमजोर बनेको तथ्य अस्वीकार गर्न सकिँदैन। त्यसैले साझा वैचारिक दृष्टिकोण र संगठनात्मक एकतामार्फत वाम आन्दोलनलाई पुनर्गठन गर्नु ऐतिहासिक आवश्यकता बनेको छ।

३. एकताको सम्भावित रूपरेखा

वाम शक्तिबीचको एकता केवल नाम वा संगठनको मिलन होइन; यसले विचार, नीति र व्यवहारमा समानता ल्याउनुपर्छ।

(क) वैचारिक एकरूपता:
मार्क्सवादी–लेनिनवादी र माओवादी विचारबीच सहमति खोज्दै नेपालको सामाजिक र आर्थिक यथार्थलाई आधार बनाएर नयाँ वैचारिक मार्गचित्र तय गर्नुपर्छ।

(ख) नीति तथा कार्यक्रम:
रोजगारी सिर्जना, आत्मनिर्भर अर्थतन्त्र, शिक्षा र स्वास्थ्यमा समान पहुँच, सुशासन र समतामूलक विकासका साझा नीति बन्नुपर्छ।

(ग) संस्थागत नेतृत्व प्रणाली:
नेतृत्वको व्यक्तिगत प्रतिस्पर्धा अन्त्य गर्दै सामूहिक निर्णय प्रणालीमा आधारित नेतृत्व ढाँचा विकसित गर्नुपर्छ।

(घ) संगठन सुदृढीकरण:
केन्द्रदेखि टोलस्तरसम्म र जनसंगठनहरूसम्म साझा संगठनात्मक संरचना निर्माण गरी कार्यकर्ताबीच आपसी विश्वास र सहकार्य पुनःस्थापित गर्नुपर्छ।


४. मुख्य चुनौतीहरू

विभिन्न स्कुलिङ, कार्यशैली र मनोविज्ञानबीच गरिएको एकताले चुनौतीहरू थप्न सक्छ। त्यसैले निम्न विषयमा ध्यान दिन जरुरी छ–

  1. सत्ताकेन्द्रित समीकरणमा आधारित एकताले दीर्घकालीन अर्थ राख्दैन।
  2. वैचारिक अस्पष्टता र व्यवहारिक विरोधाभास रहे एकता असफल हुन सक्छ।
  3. पुरानो पुस्ताको वर्चस्व र नयाँ पुस्ताको असन्तुष्टिबीच सन्तुलन कायम गर्न नसक्दा संकट आउन सक्छ।
  4. विगतका असफल एकताबाट शिक्षा नलिएमा पुनः त्यही गल्ती दोहोरिन सक्छ।
  5. बाह्य भू–राजनीतिक प्रभाव र आन्तरिक राजनीति बीच सन्तुलन कायम गर्न असफल भए एकता कमजोर पर्न सक्छ।

यी चुनौतीहरू पार गर्न आत्मसमीक्षा, दूरदृष्टि, पारदर्शिता र राजनीतिक संस्कारमा सुधार अत्यावश्यक छ।

५. सम्भावना र निष्कर्ष

वाम शक्तिबीच पुनः एकता केवल सम्भव होइन, ऐतिहासिक आवश्यकता बनेको छ। एकता सत्ता–केन्द्रित नभई विचार–केन्द्रित, जनअपेक्षामुखी र राष्ट्रिय हितमा केन्द्रित हुनुपर्छ। नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायतका वाम शक्तिहरूबीचको सहकार्यले परिवर्तनकामी शक्तिहरूमा नयाँ ऊर्जा र आशा भरेको छ।

वाम दलहरूले विगतका कमजोरीबाट शिक्षा लिएर स्पष्ट जनमुखी कार्यक्रम ल्याउन सके भने वामपन्थी एकता नेपालको राजनीतिक स्थायित्व र समृद्धिको आधार बन्न सक्छ। यसैले वाम एकता केवल दलहरूको पुनर्मिलन होइन, राष्ट्रको बृहत्तर हित, वैचारिक स्पष्टता र जनअपेक्षासँग मेल खाने नयाँ राजनीतिक संस्कारको पुनःनिर्माण हो।

जन–अनुमोदित, पारदर्शी र विचार–केन्द्रित पार्टी निर्माणको यस ऐतिहासिक अवसरमा सबै वाम शक्तिले हातेमालो गर्न सकोस् भन्ने शुभकामना।

लेखक नेकपा माओवादी केन्द्रका कोशी प्रदेश सचिवालय सदस्य हुन्