लोड हुँदैछ...

मेनु

चारवटा संयुक्त युवा संगठनद्वारा प्रधानमन्त्री शाहको राजीनामा माग

चारवटा संयुक्त युवा संगठनद्वारा प्रधानमन्त्री शाहको राजीनामा माग

विराटनगर । विभिन्न राजनीतिक दल निकट चार संयुक्त युवा संगठनहरूले बालेन शाहको पछिल्लो अभिव्यक्ति र कार्यशैलीप्रति गम्भीर आपत्ति जनाउँदै उनको राजीनामा माग गरेका छन्। राष्ट्रिय युवा संघ नेपाल, वाइसिएल नेपाल, युवा संघ नेपाल र नेपाल समाजवादी युवा संघले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै शाहको राष्ट्रघाती र गैरजिम्मेवार अभिव्यक्तिको कडा निन्दा गरेका हुन्।

विज्ञप्तिमा उल्लेख भएअनुसार भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका क्षेत्रमा गरेको कब्जाका बारेमा सोधिएको प्रश्नमा बालेन शाहले ‘नेपालले पनि भारतको जमिन मिचेको छ’ भनी दिएको अभिव्यक्तिप्रति युवा सङ्गठनहरूको गम्भीर ध्यानाकर्षण भएको छ। उक्त अभिव्यक्ति राष्ट्रियता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको प्रतिकूल रहेको र यसले नेपाली भूमि भारतलाई सुम्पने षड्यन्त्रको आशंका पैदा गरेको सङ्गठनहरूको ठहर छ।

संयुक्त सङ्गठनहरूले बालेन शाहमाथि स्थापित मूल्य मान्यताको बेवास्ता गरेको, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति उदासीन रहेको र राष्ट्रपति संस्था एवं संसदको अपमान गरेको आरोप लगाएका छन्। संसदीय नियम र कानुनलाई बेवास्ता गर्दै शाहले राज्य सञ्चालनमा मिडिया ट्रायल र सामाजिक सञ्जालको दुरुपयोग गरेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा शाहको सरकारले सुकुम्बासी बस्तीमा गरेको धरपकड, बजेटमा निम्न र निम्न–मध्यम वर्गलाई उपेक्षा गरी पुँजीपति वर्गको पक्षपोषण गरेको विषयलाई पनि उठाएको छ। शिक्षा, स्वास्थ्य र विद्युत् महसुलमा कर बढाएर सर्वसाधारणको ढाड सेक्ने काम गरिएको भन्दै युवा सङ्गठनहरूले यसलाई ‘असोभनीय’ कदम भनेका छन्।

यी गतिविधिहरूलाई ‘जनविरोधी र राष्ट्रघाती’ संज्ञा दिँदै युवा सङ्गठनहरूले बालेन शाहलाई नेपाली जनतासँग माफी मागेर तत्काल राजीनामा दिन आह्वान गरेका छन्। साथै, आफ्ना कार्यकर्ता र आम युवाहरूलाई यस्ता प्रवृत्तिविरुद्ध विरोध प्रदर्शन र भण्डाफोर कार्यक्रममा सहभागी हुन समेत अनुरोध गरिएको छ।

विज्ञप्तिमा राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष महाराज गुरुङ, वाइसिएल नेपालका अध्यक्ष पुष्प ओली, युवा संघ नेपालका संयोजक धर्म शाही र नेपाल समाजवादी युवा संघका प्रमुख विजय खड्काले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।