विराटनगर । आगजनीबाट ध्वस्त भएको विराटनगर महानगरपालिकाको ११ नम्बर वडाबाट न्यूनतम सेवा प्रवाह समेत हुन नसकिरहेको बेलामा विराटनगरका समाजसेवी दिनबन्धु गोयलले एक थान कम्प्युटर सहयोग स्वरुप उपलब्ध गराएका छन् । मंगलबार, समाजसेवी तथा उद्योगी गोयलले वडा कार्यालयको सेवा प्रवाहलाई पुनः सुचारु गर्न सहयोग पुर्याउने उद्देश्यले उक्त कम्प्युटर प्रदान गरेका हुन् ।
भाद्र २४ गते ‘जेन–जी युवा पुस्ता’ले गरेको शान्तिपूर्ण भनिएको आन्दोलनले उग्र रूप लिँदा विराटनगरका विभिन्न सरकारी कार्यालयहरुमा आगजनी भएको थियो । सोही क्रममा वडा नम्बर ११ को कार्यालयमा रहेको कम्प्युटर पनि जलेर पूर्णरुपमा नष्ट भएको थियो । कम्प्युटर अभावमा वडाले प्रदान गर्ने सिफारिस, दर्ता चलानी तथा अन्य अनलाइन प्रणालीमार्फत हुने सम्पूर्ण कामहरु गर्न समस्या भएको थियो ।
सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै वडाकै स्थायी बासिन्दासमेत रहेका वरिष्ठ समाजसेवी गोयलले व्यक्तिगत तर्फबाट कम्प्युटर सहयोग गरेका हुन् । आफ्नो वडाका बासिन्दाले छिटोछरितो र सहज रूपमा सेवा पाएको हेर्ने आफ्नो चाहना रहेकोले सहयोग गरेको उनले बताए । समाजसेवी गोयलका कर्मचारीले उक्त कम्प्युटर वडा कार्यालयमा आयोजित एक कार्यक्रमका बीच वडाध्यक्ष तिथेन्द्र न्यौपानेलाई हस्तान्तरण गरेका हुन् ।
कम्प्युटर ग्रहण गर्दै वडाध्यक्ष न्यौपानेले संकटको बेलामा महत्वपूर्ण सहयोग प्राप्त भएकोमा समाजसेवी गोयलप्रति आभार व्यक्त गरे । उनले प्राप्त कम्प्युटरले वडाको सेवा प्रवाहलाई तत्कालैबाट सहज बनाउने र जनताको कामलाई पुनः गति दिने विश्वास व्यक्त गरे । आगजनीका कारण अन्य भौतिक क्षति समेत व्यहोरेको वडा कार्यालयलाई यो सहयोगले ठूलो राहत मिलेको वडा कार्यालयले जनाएको छ ।