लोड हुँदैछ...

मेनु

रास्वपा महाधिवेशनको बन्द सत्र सुरु: नीतिसँगै नेतृत्व चयनको प्रक्रिया पनि अघि बढ्दै

रास्वपा महाधिवेशनको बन्द सत्र सुरु: नीतिसँगै नेतृत्व चयनको प्रक्रिया पनि अघि बढ्दै

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशन अन्तर्गत आज सोमबारदेखि चितवनमा बन्द सत्र सुरु हुँदैछ। आइतबार भरतपुरमा भव्य उद्घाटन गरिएको महाधिवेशनको बन्द सत्र चितवन प्रदर्शनी केन्द्रमा सञ्चालन हुन लागेको हो।

बन्द सत्रमा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् भने विधान संशोधन लगायतका महत्त्वपूर्ण प्रस्तावहरूमाथि छलफल र पारित गर्ने कार्यसूची छ। नीतिगत बहससँगै रास्वपाले नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया पनि सँगसँगै अगाडि बढाएको छ।

संशोधित निर्वाचन तालिका अनुसार सोमबार बिहान १० बजे प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गरिनेछ। दिउँसो १ बजेदेखि पहिलो चरण (सभापति र केन्द्रीय सदस्य) का लागि मनोनयन फाराम वितरण र २ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ। दाबी विरोध र नाम फिर्ताको प्रक्रिया सकेर सोमबार राति ११ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ।

मंगलबार बिहान ७ देखि ८:३० सम्म मौन अवधि तोकिएको छ भने बिहान ८:३० देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ। पहिलो चरणको निर्वाचन सकिएपछि पार्टी पदाधिकारीका लागि दोस्रो चरणको प्रक्रिया सुरु हुनेछ, जसको कार्यतालिका पछि तय गरिनेछ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।