विराटनगर । मोरङको सुकुना बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा आन्तरिक विवाद चुलिएको छ । स्ववियु सभापति एलिस ओझाले समितिलाई कुनै जानकारी नदिई एकलौटी र मनोमानी ढंगले आर्थीक दुरुपयोग गरेको भन्दै समितिका बहुमत सदस्यहरूले स्वीयूको कार्यालयमा ताला लगाएका छन् ।
स्ववियु सचिव रोशन क्षेत्री, कोषाध्यक्ष सरिना थापा, सहायक सचिव होम बहादुर पौडेललगायत बहुमत सदस्यहरूले एक संयुक्त विज्ञप्ति जारी गर्दै सभापतिको कार्यशैलीप्रति कडा आपत्ति जनाएका हुन् । सभापति ओझाले अनेरास्ववियुको २४औं महाधिवेशनका लागि भन्दै स्ववियु कोषबाट २०,००० रुपैयाँ रकम समितिको कुनै आधिकारिक बैठक, छलफल वा सामूहिक सहमतिबिना नै निकालेको आरोप उनीहरुले लगाएका छन् । ‘स्ववीयूको नक्कली लेटरप्याट प्रयोग गरेर ५ लाख सम्म दरुपयोग गरेको पाएका छौ’, एक स्ववीयू सदस्यले भने ‘हामीले छानविनका लागि २४ घन्टाको समय दिएका छौ ।’ विद्यार्थीको हकहित र समस्या समाधानका लागि जम्मा गरिएको कोषलाई व्यक्तिगत स्वार्थमा प्रयोग गरिएको उनीहरूको दाबी छ ।
विवाद सतहमा आएपछि बहुमत सदस्यहरूले पाँचबुँदे माग अघि सार्दै सभापति र क्याम्पस प्रशासनलाई २४ घण्टे अल्टिमेटम दिएका छन् । उनीहरूले सभापतिलाई रकमको सम्पूर्ण विवरण तत्काल सार्वजनिक गर्न, एकल निर्णय गर्नुको स्पष्टीकरण दिन र भविष्यमा यस्ता गतिविधि नदोहो¥याउन चेतावनी दिएका छन् ।
त्यसैगरी, क्याम्पस प्रशासनलाई पनि स्ववियु अध्यक्षलाई के को आधारमा रकम निकासा दिइयो भनी २४ घण्टाभित्र लिखित जवाफ दिन माग गरिएको छ ।बहुमत सदस्यहरूले यो विषयमा ढाकछोप नगरी छानबिन प्रक्रिया अगाडि नबढाए चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिएका छन् ।