इहटरी । आफ्नो छुट्टै र अलग्गै राजश्वको स्रोत नभएको कोशी प्रदेश सरकारले सुनसरीको इटहरीमा प्रदेश राजस्व कार्यालय सञ्चालनमा ल्याएको छ ।
कोशी प्रदेशमै पहिलो पटक सञ्चालनमा ल्याइएको प्रदेशस्तरीय कार्यालयको सोमबार आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना मगरले उद्घाटन गरेका छन् ।प्रदेश सरकारले मालपोत, पर्यटन, दहत्तर बहत्तर, यातायात लगायतका शिर्षकमा राजश्व प्राप्त गर्दछ । तर, प्रदेशको य राजश्व तोकिएका कार्यालयले आफैं उठाउँछन् । संघीय राजश्व कार्यालयले असुल्ने भ्याट, आयकर, अन्तशुल्क र भन्सार जस्ता राजश्व प्रदेशको मातहतमा छैनन् ।
प्रदेशले उठाउने राजश्व प्रदेश र स्थानीय तहमा बाँडफाँड हुन्छ । प्रदेशको राजश्वको मुख्य स्रोत यातायात कार्यालयले उठाउने र मालपोत कार्यालयले उठाउने राजश्व हो । यो सम्बन्धि कार्यालयले कारोबारको समयमा उठाउँछन् । त्यसबाहेक पर्यटन, दहत्तर बहत्तर जस्ता शुल्क स्थानीय सरकारले असुलेर प्रदेशमा पठाउँछन् ।
प्रदेश सरकारले भने राजस्व संकलनमा सहजीकरण गर्ने भन्दै कार्यालय नै स्थापना गरेको हो । प्रदेशको क्षेत्राधिकारभित्र पर्ने विषयमा आवश्यक सहजीकरण गर्न र प्रदेशको राजस्वलाई वृद्धि गर्न कार्यालय सञ्चालनमा ल्याइएको मन्त्री मगरले बताएका छन् । तर, कार्यालयले कसरी सहजीकरण गर्छ र कसरी राजश्व बृद्धि गर्छ भन्ने उनले कुनै जानकारी दिएनन् ।
प्रदेश सरकारले सोचेअनुसार राजस्व संकलन गर्न नसकिरहेकोले छुट्टै कार्यालय स्थापना गरेको दावी मन्त्री मगरको छ । तर, कुनै छुट्टै राजश्व संकलन नहुने भएकोले कार्यालय स्थापना हुँदा कसरी राजश्व बृद्धि हुन्छ भन्ने स्पष्ट नरहेको कर्मचारीहरु बताउँछन् ।कुन–कुन क्षेत्रबाट राजस्व उठाउन सकिएको छैन, त्यसको पहिचान गरेर कार्यालयले राजस्व उठाउन सहजीकरण गर्ने सरकारको दावी छ । यसअघि भीम आचार्य मुख्यमन्त्री हुँदा प्रदेशको राजश्वको स्रोत पहिचान र बृद्धि गर्न कार्यदल गठन भएको थियो । कार्यदलले के प्रतिवेदन दियो भन्ने रेकर्डसमेत मुख्यमन्त्री कार्यालयमा छैन ।
कोशी प्रदेश सरकारले गत आर्थिक वर्षमा ४ अर्ब ९८ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ९८ प्रतिशत सफलता हासिल गरेको थियो । चालु आवमा सरकारले ५ अर्ब ५० करोड राजस्व उठाउने लक्ष्य राखेको छ ।
फोटा