इटहरी । कानुन अनुसार असार ३१ गतेभित्र पारित भइसक्नुपर्ने सुनसरीको इटहरी उपमहानगरपालिकाको बजेट एक महिनापछि शनिबार पारित भएको छ ।
शुक्रबार सुरु भएको नगरसभाले शनिबार उपमहानगरको बजेट पारित गरेको मेयर हेमकर्ण पौडेलले जानकारी दिएका छन् ।
गएको असार १० मा उपमेयर संगीताकुमारी चौधरीले आर्थिक वर्ष २०८२–८३ का लागि २ अर्ब ५५ करोड २१ लाख रुपैयाँको बजेट नगरसभामा पेस गरेकी थिइन् । बजेट पेश भएपछि नेपाली कांग्रेसबाट निर्वाचित मेयर पौडेल र एमालेबाट निर्वाचित उपमेयरसहित बहुमत कार्यपालिका सदस्यबीच विवाद हुँदा बजेट पारित हुन सकेको थिएन ।
नगरप्रमुख हेमकर्ण पौडेलले अनुसूची उपलब्ध नगराएपछि गत असार ३१ गते बजेट पारित नगरि नगरसभा स्थगित भएको थियो । १६औँ नगरसभा बैठककै निरन्तरता स्वरूप अहिले २ दिन सभा सञ्चालन गरेर बजेट पारित गरिएको हो ।
यसअघि अर्थ विधेयक, विनियोजन विधेयक र राजस्वको दररेट उपलब्ध नगराई गोलमोटोल तरिकाले पास गर्न खोजेपछि विवाद उत्पन्न भएको थियो । वडाबाट छनौट भएर आएका योजना समेटिएको अनुसूचीसहित बजेट पेस गर्न बहुमत नगर सभा सदस्यले माग गरेपछि नगर सभा स्थगित भएर बजेट नै अलपत्र बनेको थियो ।
तोकिएको समयमा बजेट पारित हुन नसक्दा साउन १ देखि इटहरी बजेट होलिडेमा थियो । शुक्रबार सुरू भएको इटहरीको नगरसभा शनिबार पनि दिनभरी चलेको थियो । शनिबार नगरको १६ औं नगरसभाले बजेट पारित गरेको हो ।
नयाँ बजेटमा इटहरीले चालु खर्चतर्फ १ अर्ब ४ करोड ११ लाख १० हजार अर्थात कुल बजेटको ४०.७९ प्रतिशत, वित्तीय व्यवस्थापन अन्तर्गत साँवा ब्याज भुक्तानीतर्फ ९० लाख अर्थात कुल बजेटको ०.३५ प्रतिशत र पूँजीगत खर्च १ अर्ब ५० करोड १९ लाख ९० हजार अर्थात कुल बजेटको ५८.८६ प्रतिशत छुट्याइएको छ । नयाँ बजेटले भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेको पौडेलले जानकारी दिए ।
उपमेयर चौधरीले गत असार १० गते २ अर्ब ५५ करोड २१ लाखको अनुमानित बजेट प्रस्तुत गरेकी थिइन् । गत आर्थिक वर्षमा ३ अर्ब ५७ करोड ८४ लाख ५० हजारको महत्वाकांक्षी बजेट ल्याएको उपमहानगरपालिकाले नगर स्तरीय योजना सञ्चालन गर्न सकेको थिएन ।
नगर सभाले नगरको गुरु योजना निर्माण गर्ने कार्यक्रम पारित गरेको छ । नगरको सर्वाङ्गीण विकासको लागी गुरु योजना अनुसारको कार्यक्रम तय गर्ने र विकासको ठोस नीति अवलम्बन गर्ने लक्ष्य लिइएको छ ।
बजेटमा इटहरीलाई सुन्दर शहर बनाउन सौन्दर्यकरणका लागि सडक निर्माणसँगै सडक क्षेत्राधिकारभित्र पर्ने आवश्यक स्थानमा रोड फर्निचर लगाउने, पैदलयात्रीको सहजताका लागि कोशी राजमार्ग दुई वटा आकासे पुल निर्माण गर्न बजेट विनियोजन भएको उपमहानगरले जानकारी दिएको छ
।