विराटनगर । सामाजिक सञ्जालमा यतिबेला मोरङको सुन्दरहरैंचा जोगियारेमा चोरी भएको बिजुलीको पोलको ट्रान्सफर्मरको समाचार ट्रोल बनिरहेको छ । गत बुधबार बिहानको राती ट्रान्सफर्मर नै चोरेर लगरिएको थियो । एटा ट्रान्सफर्मरमा झण्डै २० किलो तामाको तार हुने भएकोले चोरले ट्रान्सफर्मर चोरी गरेको प्रहरीको दाबी छ ।

मोरङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले ट्रान्सफर्मर चोरको खोजी भइरहेको छ । ‘हामीले चोरको हुलिया पत्ता लगाइसकेका छौं । पक्राउ गर्न बाँकी छ,’ उनले भने । उनका अनुसार यसअघि पनि ट्रान्सफर्मर चोरी भएका घटना छन् । गत फागुनको २७ गते ग्रामथान ४ बाट पनि ट्रान्सफर्मर चोरी भएको थियो । यस्तै फागुन २९ गते सुन्दरहरैंचाकै वस्तिपुरबाट पनि ट्रान्सफर्मर चोरी भएको जोशी बताउँछन् । तर, चोर भने अहिलेसम्म पक्राउ परेका छैनन् ।

‘चोरले पहिले ट्रान्सफर्मरको फ्यूज तानिदिएर विद्युत् लाइन काट्ने र त्यसपछि ट्रान्सफर्मर खोलेर निकाल्ने गरेका छन् । ट्रान्सफर्मर निकालिसकेपछि त्यसभित्रको तामाको तार झिकेर लैजाने गरेको देखियो,’ जोशीले भने, ‘एउटा ट्रान्सफर्मरमा २० किलोजति तामाको तार हुँदोरहेछ ।’ उनले गत फागुन यता भएका तीनवटै ट्रान्सफर्मर चोरीको घटना एउटै प्रकृतिको देखिएको बताए । ‘ट्रान्सफर्मर चोर्ने विद्युत् सम्बन्धी ज्ञान भएको मानिस नै भएको हुनुपर्छ । त्यही आधारमा मानिसकोे खोजी भइरहेको छ । तीनवटै घटनामा एउटै समूहको संलग्नता पनि हुनुपर्छ,’ जोशीले भने । प्राधिकरणका कर्मचारी भने ट्रान्सफर्मरको क्षमता अनुसार तामाको तारको तौल तलमाथि हुने बताउँछन् । त्यो तारको मूल्य प्रतिकिलो ३ हजारदेखि ३५ सयसम्म पर्ने कर्मचारीको भनाइ छ ।

ट्रान्सफर्मर मात्रै होइन प्राधिकरणमा तामाको तार चोरको आतङ्क बढेको प्राधिकरणकै कर्मचारीहरु बताउँछन् । ‘विराटनगरमा ट्रान्सफर्मरको सुरक्षाको लागि अर्थिङको लागि राखेको १ मिटर, २ मिटरको तामाको तार पनि लगेर हैरान भएको छ । एक वर्षभित्रमा झण्डै ५० वटा बढी चोरीका घटना भएका छन्,’ विराटनगर विद्युत् वितरण केन्द्रका एक कर्मचारीले बताए ।
विराटनगर विद्युत् वितरण केन्द्रका प्रमुख सरोजकुमार साहका अनुसार ट्रान्सफर्मर चोरी पहिले पनि हुन्थ्यो । त्यो समूह कारबाहीमा परेपछि भने त्यस्ता घटना रोकिएको थियो । तर, अहिले पुनः ट्रान्सफर्मर र तार चोरीको घटना बढ्दा सुरक्षा चिन्ता बढेको उनले बताए ।

ट्रान्सफर्मर चोरले लठ्ठीले हानेर फ्यूज झार्ने र विद्युत् बन्द गरेर चोरी गर्ने गरेको देखिन्छ,’ उनले भने, ‘हामीले प्रहरीलाई चिठी काटेर अनुसन्धान गर्न माग गरेका छौं । तर, अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।’ उनले पनि अर्थिङको तार चोरीले हैरान पारेको बताए । ‘अर्थिङको तार पनि चोर्छ । १०, २० रुपैयाँमा विक्री गर्छन् । १–२ मिटर हुन्छ,’ उनले भने । उनका अनुसार अर्थिङको त्यस्तो तारको मूल्य प्राधिकरणको रेटमा ५ सय ६ सय पर्छ । तर, चोरले न्यून मूल्यमा विक्री गर्ने उनको दाबी छ । त्यस्ता चोर भने दुले चोर भएको प्रहरीको आशङ्का छ ।

सुन्दरहरैंचामा भएका घटनामा भने ठूलै चोरको समूह रहेको हुनसक्ने प्राधिकरण स्रोत बताउँछ । चोरले चोरेको तार जस्ताको तस्तै बेच्दा पक्राउ पर्ने डरले पगालेर पनि विक्री गरेको हुनसक्ने आशंका प्राधिकरणका कर्मचारहिरुले नै गरिरहेका छन् । ‘ट्रान्सफर्मर चोर्नका लागि एक घण्टाजति लाइन डिस्टर्ब हुन्छ । त्यसबेला सर्वसाधरण र प्राधिकरणका कर्मचारी पनि सजक हुनुपर्ने देखियो । एउटा ट्रान्सफर्मरको तार निकालिसक्न लामै समय लाग्छ,’ प्राधिकरण प्रमुख साहले भने, ‘ट्रान्सफर्मर नै चोरी गर्ने चाहिँ ठूलै गिरोह हुनसक्छ ।’