ढाका महोत्सव सुरु,ढाका कपडालाई सरकारी पोसाक बनाइने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशका निजामती र शिक्षक कर्मचारीहरुको पोशाकको रुपमा ढाकाको कपडा प्रयोग गर्ने नीति ल्याउने बताएका छन् ।नेपाल लउद्योग वाणिज्य महासंघ कोशी प्रदेश महिला उद्यम विकास समितिको आयोजनामा विराटनगरमा तीन दिने ढाका महोत्सवको बिहीबार उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले कर्मचारी पोसाकको रुपमा प्रयोग गर्न सरकारले नीति बनाउने बताएका हुन् ।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा हिमाल, पहाड र तराई तीनै क्षेत्रमा प्रयोग गर्न उपयोगी भएमा कर्मचारी पोसाक बनाउन सरकार तयार रहेको बताएका हुन् । उनले भने, ‘हिमालदेखि तराईसम्मका कर्मचारीलाई उपयोगी हुने कपडा उत्पादन भए सरकारले आउँदो नीति कार्यक्रममा समावेश गरेर बजेट प्रबन्ध गर्नेछ । शिक्षक, शिक्षिका र कर्मचारीहरुको पोशाकमा पनि यो नीति लागू गर्न सकियो भने बरु प्रदेश सरकारले पनि केही लगानी गरिदिनेछ । यो कार्यक्रम सफल भएमा आन्तरिक उत्पादन, रोजगारी र आत्मनिर्भर अर्थतन्त्र विकासमा योगदान पुग्ने छ ।’

मुख्यमन्त्री कार्कीले नेपालीहरुमा उत्पादन नहुँदा भएन भन्ने, उत्पादन गर्दा गुणस्तरीय भएन भन्ने र गुणस्तरीय उत्पादन गर्दा महंगो भयो भन्ने तर विदेशी उत्पादनलाई ब्राण्डेड भन्दै बढी खर्च गर्ने दोहोरो चरित्र देखिएको पनि बताए । उनले महिला उद्यमीहरुले ढाका उत्पादनमा गरिरहेको योगदानको प्रसंशा गर्दै सरकार उद्यमीहरुको साथमा सरकार सधैं रहेको बताए । साथै उनले घरेलु उत्पादनको रुपमा रहेको ढाका प्रवद्र्धन गर्न प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी, सामाजिक विकास र पर्यटन तथा वन वातावरण मन्त्रालयका बिचमा सहकार्य र समन्वय गर्न आग्रह पनि गरे । उहाँले स्थानीय उत्पादन प्रवद्र्धन र बजारीकरणका लागि आवश्यक पर्ने कानुनको बारेमा सुझाव दिन पनि सरोकारवालाहरुलाई आग्रह गरे । ‘कस्तो कानुन बनाउँदा स्थानीय उत्पादनलाई राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न सकिन्छ र कस्तो नीति बनाउँदा निर्यात गर्न सकिन्छ भन्ने सुझाव दिनुहोला त्यस अनुसार सरकारले नीति बनाउन भूमिका खेल्छ,’ मुख्यमन्त्री कार्कीले भने

कोशी प्रदेशका १४ वटै जिल्लामा ढाकाका कपडा तथा विभिन्न सामग्री उत्पादन गरिरहेका उत्पादकहरुलाई विराटनगरको जैन भवन परिसरमा जुटाएर महोत्सव मार्फत उत्पादन प्रवद्र्धनको प्रयास गरिएको आयोजकले जनाएको छ ।
सोही कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्रालयका सचिव हेमराज तामाङले सरकारले पोशाकका लागि नियमित खर्च दिने गरेकोले स्वदेशी उत्पादन खरिद गरी ढाकालाई कार्यालय पोशाकको रुपमा सरकारले निर्णय लिन सक्ने बताएका थिए । यसले ढाका उत्पादनलाई औद्योगिक विकास गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।

महोत्सवमा ढाका कपडा, ढाकाबाट बुनेको झोला, सल, साडी, कोट, टाई, टोपी आदि अनेकौं वस्तुहरु प्रदर्शनका लागि राखिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश महिला उद्यमी विकास समितिको संयोजना आयोजना भएको महोत्सव चैत ९ गतेसम्म सञ्चालन हुने छ । महोत्सवमा उपभोक्ताहरुको उल्लेख्य सहभागिता रहने आयोजकको विश्वास छ ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले कोशी प्रदेशमा ढाकाको उत्पादन अवस्था राम्रो रहेको र उत्पादन विस्तार गर्न सकिने आधार र जनशक्ति भएकोले यसलाई बजारीकरण गरी निर्यातसमेत गर्न सकिने बताए । त्यसका लागि महासंघले सरकारको साथ र सहयोग खोजेको उनको भनाइ थियो ।

कार्यक्रममा महिला उद्यमी विकास समितिकी संयोजक सरु केसी लगायतले महोत्सव सफलताको शुभकामना दिएका थिए ।

बिहिबार, ०६ चैत, २०८१, रातीको ०८:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर