हिसान कोशी प्रदेश अन्तर क्रिकेटको उपाधि विराटनगरको अरनिको कलेजलाई

विराटनगर । हिसान कोशीको आयोजना तथा हिसान मोरङको समन्वयमा विराटनगरमा भएको प्रथम कोशी प्रदेशस्तरीय अन्तर क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरको अरनिको कलेजले जितेको छ। उसले बुधबार सम्पन्न भएको फाइनल खेलमा विराटनगरकै ग्रिनल्याण्ड कलेजलाई ६४ रनले पराजित गरी उपाधि जितेको हो।

अरनिकोले माघ १५ गते विराटनगरमा सम्पन्न भएको मोरङ हिसान क्रिकेट प्रतियोगिताको फाइनलमा ग्रिनल्याण्ड कलेजलाई नै पराजित गरी उपाधि जितेको थियो। विराटनगरको बैजनाथ क्रिकेट मैदानमा भएको फाइनल खेलमा टस जितेर ब्याटिङ गरेको अरनिकोले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १४३ रनको स्कोर बनाएको थियो। अरनिकोका सोनु साहले ४४ रन बनाउँदा नुमिर अहमदले ३६ रन र सौरभ झाले २३ रनको योगदान दिए। ग्रिनल्याण्डका गणेश यादवले ३ विकेट लिँदा सुनिल यादव र गौरी शंकर यादवले २-२ विकेट लिए।

१४४ रनको लक्ष्य पछ्याएको ग्रिनल्याण्ड निर्धारित १८.४ बलमा सबै विकेट गुमाई ७९ रनमा सिमित भयो। ग्रिनल्याण्डका हेमन्त मेहताले १८ रन बनाउँदा सुनिल यादवले १३ रनको योगदान दिए। अर्निकोका रामनारायण यादवले ३ विकेट लिँदा अमर यादवले पनि ३ विकेट लिए ।

फाइनल खेलमा प्लेयर अफ फाइनल अरनिकोका नुमिर अहमद घोषित भए भने प्लेयर अफ टुर्नामेन्ट ग्रिनल्याण्डका गणेश यादव भए। त्यस्तै उत्कृष्ट ब्याटर अर्निकोका रुद्रप्रताप साह घोषित हुँदा उत्कृष्ट बलर अरनिकोकै अमर यादव घोषित भए। फागुन २६ गतेदेखि शुरु भएको प्रतियोगितामा कोशी प्रदेशका मोरङ, सुनसरी र झापाका गरी ६ टिम सहभागी रहेको थियो। विजयी तथा खेलाडीहरूलाई प्रमुख अतिथि हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, हिसान कोशी अध्यक्ष ज्ञानबहादुर खड्का र हिसान मोरङका पूर्व अध्यक्ष बलराम पन्तलगायतले ट्रफी तथा प्रमाणपत्र वितरण गरे।

बुधबार, २८ फागुन, २०८१, साँझको ०५:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर