प्रदेशसभाको कामु सचिवको जिम्मेवारी अमात्यलाई

विराटनगर । कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुली भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि उपसचिव गौतमराज अमात्यलाई सभाको कायममुकाय सचिवको जिम्मेवारी दिइएको छ ।

प्रदेश सभाको प्रवक्ताको जिम्मेवारीमा रहेका उपसचिव अमात्यलाई सभामुख अम्बरबहादुर विष्टले कायममुकायम सचिवको जिम्मेवारी दिएका हुन् । बिहीबारको प्रदेश सभा बैठकमा सचिवको आसनमा अमात्यले जिम्मेवारी निर्वाह गरेका थिए ।
तत्कालिन काठमाडौ जिल्ला विकास समितिको स्थानीय विकास अधिकारी रहँदा पराजुलीले पशुपतिको जग्गामा बालुवाखानी सञ्चालन गर्न दिएर भ्रष्टाचार गरेको भन्दै सर्वोच्च अदालतले बुधबार उनलाई ६ वर्ष कैदको फैसला सुनाएको थियो । अदालतले पराजुलीलाई १ करोड २२ लाख रूपैयाँ जरिवाना हुनेसमेत फैसला गरेको छ ।

सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले पशुपतिको जग्गामा बालुवाखाली सञ्चालन गर्न दिँदा भ्रष्टाचार गरेको आरोपमा पराजुली र एमाले नेता निर्मल कुइँकेलसहित ९ जनालाई दोषी ठहर गरेको थियो ।
निजामति सेवामा विभिन्न जिल्लाको स्थानीय विकास अधिकारी, प्रमुख जिल्ला अधिकारी हुँदै पराजुलीले प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवको जिम्मेवारी पुरा गरेका थिए । सचिव पदमा कार्यरत रहेकै बेला राजिनामा दिएर उनी १२ वैशाख २०७६ मा प्रदेश सभाको सचिव नियुक्त भएका थिए ।

पराजुलीलाई ९ वैशाख २०८१ देखि लागु हुने गरी दोस्रो कार्यकालका लागि प्रदेश सभाको सचिवमा नियुक्त गरिएको थियो । अदालतबाट भ्रष्टचारी ठहर भएसँगै पदमुक्त भएका उनी पुनरावलोकनमा जाने भन्दै काठमाडौं गएको बताइएको छ ।

बिहिबार, ०१ फागुन, २०८१, रातीको ०८:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर