ऋषिकेशका स्वकीय सचिव पोखरेलविरुद्ध पाँच दिनको म्याद थप

विराटनगर । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिब तथा नेकपा एमाले मोरङका सदस्य अनिलकुमार पोखरेल विरुद्ध पाँच दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

ठगी गरी अपराधिक लाभ लिएको मुद्दामा मोरङ जिल्ला अदालतले बिहीबार ५ दिनको म्याद थप गरि प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको हो ।

पोखरेल बिहीबार विहान १० बजे मोरङ प्रहरीमा आफैं उपस्थित भएका थिए । सोमबार पोखरेलविरुद्ध मोरङ अदालतले प्रहरीलाई पक्राउको अनुमति दिएको थियो । त्यसपछि उनलाई पक्राउको लागि प्रहरीले सादा पोशकमा प्रहरी टोली परिचालन भएको थियो । प्रहरीले पक्राउ अनुमति लिँदा उनी काठमाडौंमा थिए ।

बुधबार सहकारी ठगीमा मुछिएर फरार रहेकी लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला अदालतमा उपस्थित भएकी थिइन् । उनी १० लाख धरौटीमा छुटेलगत्तै स्वकीय सचिव पोखरेल पनि प्रहरीकोमा उपस्थित भएका हुन् ।

‘अनिललाई पक्राउको लागि उपत्यका प्रहरी परिसर काठमाडौंसँग समन्वय भइरहेको थियो’ प्रहरीले भन्यो, ‘तर, उनी आफैं प्रहरीमा हाजिर भएका हुन् ।’ अदालतको आदेशलाई सम्मान गर्ने र प्रहरीलाई अनुसन्धानमा सहयोग पुर्याउने भन्दै उनी मोरङ कार्यालयमा पुगेका थिए ।

प्रहरीले त्यसपछि उनलाई नियन्त्रणमा लिएर दिउँसो २ बजे सरकारी वकिलको कार्यालयमा उपस्थिति गराएर मोरङ अदालतमा म्याद थप गरेको हो । सप्तरी घर भएका बैआलाल चौधरीको छोरीलाई एमबीबीएसमा नाम निकालिदिने भनेर विश्वासमा पारी २०७१ देखि २०७३ का बीचमा पटक—पटक गरेर ३८ लाख ८० हजार रुपैयाँ चेकमार्फत अनिलले ठगी गरेको आरोप छ । सो रकम लिएपछि चेकको अधकट्टीमा हस्ताक्षर गरेर बैआलालको छोरीलाई नाम निकाल्ने जिम्मा लिएका थिए ।

नाम ननिस्केपछि पैसा फिर्ता माग्दा उल्टै अनिलले २०७४ असार २५ गते आइतबारको मिति राखेर कपाली लिखतमा ऋणी बनाई ५० लाख रुपैयाँको कागज बनाएर जबरजस्ती हस्ताक्षर गराएको पीडित चौधरीको भनाइ छ । उनले ५० लाख ऋणको लिखत बदर गरी आफ्नो ३८ लाख ८० हजार रकम फिर्ता गराइदिन र अनिलमाथि कानुनी कारबाही गर्न माग गर्दै इलाका प्रहरी कार्यालय रंगेली पुगेका थिए । प्रहरीले निवेदन दर्ता गर्न अस्वीकार गरेपछि उनी जिल्ला प्रहरी कार्यालय मोरङ पुगे । त्यहाँ पनि जाहेरी दर्ता नभएपछि जिल्ला सरकारी वकिलको कार्यालयमा उनले गुहार मागेका थिए ।

सरकारी वकिलबाट पनि सहयोग नपाएपछि बौआलालले २०७९ साउन १८ मा जाहेरी हुलाकबाट प्रहरीलाई पठाए । प्रहरीले हुलाकबाट आएको पत्र बुझेपनि अनुसन्धान अघि बढाएन । बौआलालले ठगी गर्ने अनिल एमाले कार्यकर्ता रहेकोले एमाले मोरङमा पनि निवेदन दिए । त्यसबेला एमालेको अध्यक्ष ऋषिकेश पोखरेल थिए । तर, उनले त्यसबारे चासो दिनुको साटो अनिललाई नै स्वकीय सचिव बनाए ।

सबैतिरबाट आफ्नो उजुरीको सुनुवाइ नभएपछि अनिलमाथि ठगीमा अनुसन्धान गर्नका लागि प्रहरी र वकिल कार्यालयका नाममा परमादेश जारी गरिपाऊँ भनेर बौआलाल उच्च अदालत पुगेका हुन् । उच्च अदालतका न्यायाधीशद्वय राज्यलक्ष्मी वज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको इजलासले ३१ भदौंमा अनिलविरुद्ध जाहेरी दर्ता गरी कानुन अनुसार अनुसन्धान गर्न आदेश दियो । आदेशको पुस ११ गते प्रमाणिकरण भएपछि उनीमाथि अनुसन्धान प्रक्रिया अगाडि बढेको हो ।

बिहिबार, २५ पुष, २०८१, साँझको ०६:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर