विराटनगर नागरिक अभियानको ४२ बुँदे सुझाव

सडक किनारामा निर्वाध हिँड्न पाइयोस्

विराटनगर । विराटनगर नागरिक अभियान समूहले विराटनगर महानगरपालिकाको सुशासन, न्याय, सेवा प्रवाह, जनजीविका र विकास निर्माणसँग सम्वन्धित विषयमा ४२ बुँदे ध्यानाकर्षण तथा सुझाव–पत्र पेश गरेको छ ।

महानगरपालिकाभित्र विभिन्न क्षेत्रमा कार्यरत यूवा, महिला, विधार्थी, वुद्धिजीवि, व्यवसायिक, व्यापारिक र सामाजिक अभियन्ताको भेलाले सुशासन, न्याय, सेवा प्रवाह, जनजीविकाको सवालमा छलफल गरी सो सुझावपत्र पेश गरेको हो ।
‘विराटनगरको वृहत्तर विकासलाई मध्यनजर गरी नागरिकको दैनिक व्यहारिक समस्या टार्न तत्काल गर्नुपर्ने र रणनैतिक महत्व बोकेका दीर्घकालीन कार्यक्रम तथा योजनामार्फत आर्थिक, सामाजिक, सांस्कृतिकलगायतका क्षेत्रमा वृहत्तर विकास सम्भव तुल्याउँदै महानगरवासीको जीवनस्तर उकास्न भूमिका रहोस् भन्ने उद्देश्यले यो ध्यानाकर्षण तथा सुझाव–पत्र पेश गरेका छौं,’ नागरिक अभियान समूहका अभियान्ता बसन्त अधिकारीले भने ।

उक्त सुझावपत्रमा महानगरपालिका र वडाका नागरिक बडापत्रसम्बन्धी निर्देशिका, २०६९ बमोजिम व्यवस्थित गर्नुपर्ने, सूचना संकलन, भण्डारण र प्रवाहलाई छिटोछरितो र सहज गर्न आधुनिक सूचना तथा संचार प्रविधीको प्रयोग र त्यस अनुरुपको संरचना बनाउनु पर्ने, सडक किनारामा निर्वाध हिंड्न पाउने पैदल यात्रीको अधिकार स्थापित गराउनुपर्ने, जनस्वास्थ्यमा प्रत्यक्ष प्रतिकूल असर पार्ने सडकछेउमा खुल्ला विक्रि वितरण भइरहेको अस्वस्थकर खाना, खाजाको बिक्रीवितरणमा रोक लगाउन उत्पादन, प्रशोधन, ढुवानी, भण्डारण र बिक्री–वितरण स्थलमा सरसफाइको कमीलाई कडाइका साथ नियमन, जरिवाना र प्रोत्साहनको विधि मार्फत खाद्य पदार्थमा स्वच्छता तथा गुणस्तर नियमन गर्नुपर्ने, म्याद गुज्रेका, लेवल विवरण पूरा नभएका, जथाभावी रङ तथा रसायन प्रयोग गरेका र ढुसी परेका खाद्य पदार्थ सम्बन्धी समस्या, खाजा घरहरुमा बचेको तेल– घिउलाई पटक पटक प्रयोग गर्ने गरेको र जथाभावी जीवनाशक विषादीको प्रयोग भएका फलफुल र तरकारी सम्बन्धी माछामासु र अन्य खाद्य पदार्थको बिक्री वितरणमा रोक लगाउन माग गरिएको छ ।

यस्तै महानगरपालिकाले कार्यविधि निर्माण गरेर ‘मर्मत सम्भार एम्बुलेन्स’को थालनी गर्नुपर्ने, बिजुली र टेलिफोनका खम्बाहरु सडक किनारमा सार्ने कार्य एवम अव्यवस्थित तारका लठ्ठाहरुलाई व्यवस्थित गर्नुपर्ने लगायत रहेको छ । उक्त सुझाव पत्र महानगरपालिकाका प्रमुख नागेश कोइरालालाई हस्तान्तरण गरिएको अधिकारीले जानकारी दिए ।

आइतबार, २१ पुष, २०८१, बिहानको ०८:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर