विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस जनता आदर्श बहुमुखी, जनसंख्या तथा विकास केन्द्र र कलेज अफ लमा पाँच दिने खेल कार्यक्रम सुरु भएको छ ।
पूर्वाञ्चल विश्वविद्यालयको वार्षिकोत्सवका अवसरमा आइतबारदेखि पञ्चदिवसीय खेल कार्यक्रम सुरू भएको हो । खेल कार्यक्रम पुस ११ गतेसम्म सञ्चालन हुनेछ । पञ्चदिवसीय खेल कार्यक्रममा समूहगत खेलतर्फ भलिबल, फुटवल, क्रिकेट, कबड्डी र डोरीतान प्रतियोगिता आयोजना हुनेछन् भने व्यक्तिगत खेलतर्फ टेबल टेनिस, चेस, सर्ट फुट, व्याडमिन्टन र एक सय मिटर दौड प्रतियोगिता हुनेछ । सबै खेलहरूमा छात्र र छात्राहरूको सहभागिता रहेको छ । विद्यार्थीहरूको मानसिक र शारीरिक विकासका लागि खेलकुद आवश्यक रहेकोले विद्यार्थीहरूको सर्वाङ्गिण विकासका लागि क्याम्पसले पञ्चदिवसीय खेल प्रतियोगिताको आयोजना गरिएको क्याम्पस प्रमुख महेशप्रसाद निरौलाले जानकारी दिए ।
विजयी खेलाडीहरूलाई सरस्वती पूजाको दिन पुरस्कृत गरिने कार्यक्रम रहेको क्याम्पसले जनाएको छ ।