बेलबारीमा ७ औं बेलबारी गोल्डकपको तयारी

विराटनगर । मोरङको बेलबारीमा ७ औं बेलबारी आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता असोज ११ गतेदेखि सञ्चालन हुने भएको छ ।

बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गको प्रस्तावित रंगशाला लक्ष्मी खेल मैदानमा एलएक्स सिटी फुटबल क्लबले प्रतियोगिता आयोजना गर्न लागको हो ।

क्लबका अध्यक्ष विक्रम राईका अनुसार असोज ११ देखि १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका गरी १० वटा टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा आयोजकसहित डिफेन्डिङ च्याम्पियन काठमाडौंको ब्रिगेड ब्वाइज, विभागीय टोली नेपाल पुलिस क्लब, काठमाडौंका चित्लाङ फुटबल क्लब, बुटवल लुम्बिनी फुटबल क्लव बुटवल, झापा ११ फुटवल क्लब, सिरहाको सलहेश युवा क्लव, भोजपुर जिल्ला फुटबल संघ, धनकुटाको रारा फुटबल क्लब राजारानी र भारत पश्चिम बंगालको दलसिंह पारा स्पोर्टस एकेडेमी सहभागी हुनेछन् ।

प्रतियोगिताको विजेताले नगद ८ लाख र उपविजेताले नगद ४ लाखका साथ शिल्ड प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको प्रथम संस्करणदेखि छैठौं संस्करणसम्म डाँगिहाट युथ क्लब आयोजकको नाम रहँदै आएको थियो । यसपटक आयोजक क्लबको नाम परिवर्तन भई एल एक्स सिटी फुटबल क्लब रहेको अध्यक्ष राईले बताए ।

सातौं संस्करणदेखि रनिङ कप भएको हो । विजेताको लागि २ तोला सुन र २ किलो ५ सय ग्राम चाँदीजडित ट्रफी रहनेछ । प्रतियोगितामा म्यान अफ दि म्याच, सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट डिफेन्डर, सर्वोत्कृष्ट मिड फिल्डर, सर्वाधिक गोलकर्ता, उदयिमान खेलाडी र सर्वोत्कृष्ट प्रशिक्षक पुरस्कार प्राप्त गर्ने आयोजक समितिका महासचिव शम्भु बस्नेतले जानकारी दिए ।

मङ्गलबार, ०१ असोज, २०८१, साँझको ०५:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर