महानगर अध्यक्ष थापाविरुद्ध एमाले मोरङको निरन्तर प्रहार

विराटनगर । नेकपा एमाले महानगर कमिटीका अध्यक्ष सागर थापाप्रति एमालेकै नेताहरू निर्मम व्यवहार गर्न थालेका छन् । विवाद समाधान गर्ने जिम्मेवारी उपल्लो कमिटीमा पुगिसक्दा पनि मोरङ जिल्लाका नेताहरुले थापामाथिको प्रहारलाई रोकेका छैनन् बरु पटक पटक हमला गरिरहेका छन् ।

विराटनगर ३ स्थित मानगढ खानेपानीको निर्वाचनमा जिल्ला पार्टीको निर्णय अस्वीकार गरेको आरोप लगाउँदै थापालाई स्पष्टिकरण सोध्ने र निरुत्साहित गर्ने काम गरेको एमाले मोरङले पछिल्लो समय उनलाई पार्टी सदस्यसमेत नरहने गरी कारवाही गर्ने निर्णय गरेको थियो ।

निवर्तमान एमाले मोरङका अध्यक्ष ऋशिकेष पोख्रेलले अगाडि सारेको उम्मेदवारलाई स्वीकार नगरेर फरक व्यक्तिलाई उम्मेदवार बनाएर चुनाव प्रचारमा लागेको भन्दै एमाले मोरङले महानगर अध्यक्ष थापा, उपसचिव नवराज नेपाल र विराटनगर ३ नम्बर वडा कमिटी अध्यक्ष लालमणि भट्टराईलाई कारबाही गरेको हो ।

खानेपानी उपभोक्ता समितिका अध्यक्ष पदमा स्वतन्त्र रुपमा उम्मेदवार बनेका भट्टराईप्रति थापाको सामान्य सहानुभूति देखिन्थ्यो । तर तत्कालीन पार्टी अध्यक्ष ऋषिकेश पोख्रेलले भने पार्टीको आधिकारिक उम्मेदवार रामबहादुर घिमिरेलाई पराजीत गर्न भूमिका खेलेको र जिल्ला पार्टीको निर्णय अवज्ञा गरेको टिप्पणी गर्दै आएका छन् । घिमिरेलाई हराउन भूमिका खेलेको आरोप थापामाथि लगाउँदै जेठ ३१ मा पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको थियो ।

कारबाही गर्नु अगाडि छानबिन गर्न जिल्ला कमिटी उपसचिव शान्ति भुजेलको संयोजकत्वमा रविन थापा र काजीबहादुर बस्नेत सदस्य रहने गरी छानबिन समिति गठन गरेको थियो । थापा र भुजेलले बहुमतले कारबाहीको सिफारिस गरेका थिए । बस्नेतले भने निर्णयमा हस्ताक्षर गरेका थिएनन् । सोही सिफारिसको आधारमा तीन जनाउपर कारबाही गरिएको नेताहरूले बताएका छन् ।

कारबाही गर्ने र नगर्ने विषयमा विवाद बढ्दै गएपछि गत असार १७ गते बसेको प्रदेश कमिटीले समेत छानिबिन कमिटी बनाएको थियो । प्रदेश कमिटी सचिव राजकुमार भण्डारीको नेतृत्वमा छानबिन समिति बनाइएको थियो । सो समितिले छानबिनको काम गरिरहँदा गत शनिबार एमाले मोरङको संगठन कमिटीको पदाधिकारी बैठक बसेर थापामाथि यसअघि गरेको कारबाहीलाई अनुमोदन गर्ने निर्णय गरेको थियो ।
पदाधिकारी बैठकमासमेत थापालाई कारबाहीको सिफारिस गर्नेको बहुमत छ । सिफारिस समितिका संयोजक शान्ति भुजेल संगठन कमिटीका उपाध्यक्ष हुन् भने सदस्य रविन थापा सचिव हुन् । जिल्ला संगठन कमिटीका अध्यक्ष बाबुराम कार्की पनि थापाका विपक्षमा छन् । पदाधिकारीमा उपसचिवद्वय सन्तोष साह र सोम थापा छन् । थापा र साह दुवै यस प्रकरणमा मौन रहेको नेताहरूले बताएका छन् ।

छानविन समितिका संयोजकसमेत रहेका एमाले कोशी प्रदेश कमिटीका सचिव भण्डारीले गत शनिबार थापाको कारवाही अनुमोदन गर्ने जिल्ला कमिटीको निर्णयको कुनै अर्थ नभएको बताए । ‘तल्लो कमिटीले गरेको कारबाहीलाई चित नबुझेर सागर थापाले पुनरावेदन गर्नु भएको छ,’ सचिव भण्डारीले भने ‘यस्तो बेलामा जिल्लाले फेरि अनुमोदन र अस्वीकृति गर्ने निर्णयको खासै अर्थ हुँदैन । तल्ला कमिटीहरू माथिल्ला कमिटीको अधिनस्थ हुन्छन् ।’ तल्ला कमिटीले गरेको निर्णय माथिल्ला कमिटीको निर्णयबाट स्वतः खारेज हुने भएकोले पटक पटक निर्णय गरिरहनुको अर्थ नहुने उनको भनाइ थियो ।

यता जिल्ला संगठन कमिटीका अध्यक्ष कार्कीले भने नयाँ निर्णय नगरिएको बताए । ‘माथिल्लो प्रदेश कमिटीमा गएको विषय भए पनि अघिल्लो निर्णयलाई अनुमोदन गरिएको हो,’ उनले भने ‘त्यो नयाँ निर्णय होइन । नयाँ र पृथक निर्णय पनि गरिएको छैन । पार्टी प्रक्रियामुताविक अनुमोदन मात्रै गरिएको हो ।’

यता एमालेकै केही नेताहरूले भने थापालाई आफ्नै पार्टीले फरक गुटका नेतासँग उठबस गरेको आरोप लगाएर तड्पाइरहेको आरोप लगाइरहेका छन् । ‘खसी मारहान्दा एक पटकमा छिनेन भने नछिनेसम्म हानिराखिन्छ’ एक नेताले भने ‘बरु एकै पटकमा च्वाट्टै पारेको भए तड्पिनु त पर्ने थिएन,’ ती नेताले भने । उनले थपे ‘हामीले पनि थापाको पक्षमा खुलेर बोल्ययौं भने भोलि त्यस्तै अवस्था आइलाग्न सक्छ । मोरङको जिल्ला कमिटी केन्द्रीय कमिटी जस्तै निर्मम छ । सागर थापालाई भीम रावल बनाउने गरी नेताहरू बढेका छन् । यसको नतिजा भोलि देखिने छ, यसप्रति नेताहरु सचेत भएकै राम्रो हो ।’

विवाद माथिल्लो कमिटीमा पुनरावेदन गरिसकेपछि पटक पटक एउटै कमिटीबाट कारवाही भइरहेको विषयमा प्रतिक्रिया दिन भने महानगर अध्यक्ष थापाले अस्वीकार गरेका छन् । उनले भने ‘यस विषयमा अन्तिम निर्णय नआउँदासम्म म केही बोल्दिन, केही समय मौन बस्ने निर्णय गरेको छु ।’

बुधबार, १६ साउन, २०८१, साँझको ०६:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर