सहिद विद्यालयले मनायो १५ औं वार्षिकोत्सव

सहिद विद्यालयले मनायो १५ औं वार्षिकोत्सव

विराटनगर ।सुनसरीको इटहरी नगरपालिका वडा नं. १९ मा अवस्थित सहिद स्मृति आवासीय माध्यमिक विद्यालयले आफ्नो वार्षिक प्रगति प्रतिवेदन २०८० सार्वजनिक गरेको छ । विद्यालयका प्रधानाध्यापक रीता फुयालको अध्यक्षतामा आयोजित १५औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा वार्षिक प्रतिवेदन सार्वजनिक गरिएको हो ।

वार्षिक प्रतिवेदनमा विद्यालयमा हाल २६ जिल्लाबाट ४२१ विद्यार्थीहरू अध्ययनरत रहेको उल्लेख छ । जसमध्ये २५६ विद्यार्थी आवासीय छन् भने बाँकी १६५ विद्यार्थी स्थानीय रहेका छन् । वार्षिकोत्सव समारोहमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेल लगायतका शीर्ष नेताहरूको उपस्थिति रहेको कार्यक्रममा विद्यालयले भोगिरहेका चुनौती र भावी योजनाहरू प्रस्तुत गरिएको थियो ।

प्रतिवेदनमा चालु प्रशासनिक र आवास व्यवस्थापनका लागि बजेट अपुग रहेको उल्लेख छ भने शिक्षकहरूको क्षमता विकासका लागि तालिम आवश्यक रहेको बताइएको छ । यसैगरी, विद्यालयलाई पुस्तकालय, बहुप्रविधिक विषय संचालन, छात्रावास मर्मत लगायतका पूर्वाधार विकास गर्नुपर्ने देखिएको छ । त्यसैगरी विद्यालयलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ द्वन्द्वपीडित शिक्षा कार्यक्रम अन्तर्गत संचालित विद्यालयको मोडालिटी परिवर्तन गरी दीर्घकालीन संचालन व्यवस्थापन गर्ने योजना रहेको बताइएको छ । वार्षिकोत्सवमा विद्यार्थीहरुले निर्माण गरेका विभिन्न आविष्कारहरुको प्रदर्शनसमेत गरिएको थियो ।

यस्तै उक्त विद्यालयले आर्थिक वर्ष २०७९÷०८० को आर्थिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । विद्यालय व्यवस्थापन समितिका कोषाध्यक्ष राम बहादुर कार्कीले उक्त प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

आर्थिक वर्ष २०७९÷०८० मा विद्यालयको आय ४ करोड २७ लाख ७० हजार पुगेको छ भने खर्च ३ करोड ३५ लाख ६३ हजार रहेको प्रतिवेदनमा उल्लेख छ । यसरी विद्यालयको खुद नाफा ६७ लाख ७ हजार छ । विगतमा पनि विद्यालयलाई नाफा हुँदै आएको देखिन्छ ।प्रतिवेदनमा आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि ७ करोड ३६ लाख ३९ हजार खर्च लाग्ने अनुमान गरिएको छ । विद्यालयले खाद्यान्न खरिद, पोषाक, शैक्षिक भ्रमण, खेलकुद तथा सांस्कृतिक कार्यक्रम, औषधि उपचार, शिक्षक तालिम लगायतका क्षेत्रमा खर्च गर्ने गरेको छ ।प्रतिवेदनमा विद्यालयको विगत, वर्तमान अवस्था र भावी योजनाहरू समेत उल्लेख गरिएको छ । विद्यालयलाई आत्मनिर्भर बनाउने, प्राविधिक विषय संचालन गर्ने, नमुना विद्यालयको स्तरमा पुर्याउने लगायतका योजना प्रतिवेदनमा उल्लेख छ । साथै, विद्यालयमा देखिएका समस्या र चुनौतीहरूलाई समेत औंल्याइएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्