लोड हुँदैछ...

मेनु

राजनीतिक निष्ठामा ग्रहण लागेको राष्ट्रिय सभाको चुनाव

राजनीतिक निष्ठामा ग्रहण लागेको राष्ट्रिय सभाको चुनाव

गत माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन भयो । सत्तारुढ नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रसहितको गठबन्धन एकातिर र अर्कोतिर नेकपा एमालेको गठबन्धनसहित चुनावी भिडन्त भयो । राजनीतिक रुपमा खारिएका, वैचारिक रुपमा स्पष्ट र देश बनाउने भिजन बोकेकाहरु चुनावमा मतदाता थिए । यस हिसाबले यो चुनावको नतिजा तलमाथि नहुने पक्का थियो ।

तर, भयो फेरबदल । यसको परिणाम गठबन्धनबाट कोशीमा नेकपा माओवादी केन्द्रकी उम्मेदवारले जित्नुपर्नेमा एमालेको उम्मेदवारले जितिन । खासमा एमालेका लागि यो उपलब्धि भयो । तर, सारा निष्ठा र दलिय अनुशासनको यो व्यवस्थालाई भने निर्वाचन परिणामले राम्रो संकेत दिन सकेन ।

किनकि एउटा निश्चित तह पार गरेका जनप्रतिनिधिबाट मत तलमाथि हुनु भनेको ठूलो घटना हो । यसरी निर्वाचनमा हारजित हुन थाल्यो भने दलीय व्यवस्थाप्रति बढ्दै गरेको निराशालाई थप बल पुर्याउँछ । हुन त यो प्रदेशमा यसअघि पनि निर्वाचनमा परिणाम फरक आएकै थियो । यस्तो परिणाम आउदैगर्दा यसले राजनीतिक दलहरुको निष्ठामा ग्रहण लागेको संकेत मान्न सकिन्छ । यसले अहिले नै कुनै असर नगरेपनि भविष्यमा नतिजा व्यवस्थाप्रतिको वितृष्णा र प्रश्नमा टुंगिन्छ ।

हुन त जनतालाई झुटा आश्वसन र दारु र पैसा खर्च गरेर आएका जनप्रतिनिधिहरुले सिक्ने त्यही बेस हो । र, उनीहरुले आफ्नो मतलाई किनबेच गर्ने कुरा सामान्य मान्दा पनि हुने हो । तर, सांसद जस्तो मानिस नै दलीय अनुशासनमा नगएर खरिद बिक्री हुनु भनेको दुर्भाग्य हो ।

कोशी प्रदेशमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा लगायतका दलहरुको नेताका अनौपचारिक संवादहरुलाई पत्याउने हो भने करिब १० जना सांसदहरुको मत तलमाथि भएको छ । एमालेबाट पनि क्रम भएको छ भने काँग्रेस र अन्य पार्टीबाट पनि । यसले के देखाउँछ भने सबै दलमा अनुशासनहिनता र आर्थिक लोभलालच बढेको छ ।

यसको हल्ला प्रदेशमा सरकार गठन गर्ने ताकादेखि नै नचलेको होइन । तर, कतिपय दलहरुका एप्रोजहरुले यसलाई पुष्टि गर्छ । खुलारुपमा मतदान गर्नुपर्ने भएकाले प्रदेशमा देखिनेगरी सरकार बनाउँदा सांसद खरिद बिक्री हुन सकेन । तर, रािष्ट्रय सभामा आउँदा यो सबै काम भयो ।
पार्टीका नेताहरु खुल्लम खुल्ला जस्तै मोलमोलाइमा लागे । लाग्छ, कोशी प्रदेशमा एकहुल भेडाहरु छन्, तीनको मोलमलाइ भइरहन्छ । यो गम्भीर परिस्थितिको समीक्षा हुनु जरुरी छ । कतिपय गठबन्धनहरु पनि सान्दर्भिक नहुँदाको परिणाम हो । कोशीमा २०७४ देखिको समीकरण हेर्दा नेकपा माओवादी सबैभन्दा घाटामा देखिन्छ । यस प्रदेशमा ०७४ मा राम्रो उपस्थिति देखाएको माओवादी ०७९ को समीकरण बदलिँदा उसलाई समग्रमा घाटा देखिएको छ । यसले के संकेत गर्छ भने विचार मिल्नेहरुको एकताचाहिँ सार्थक एकता हुँदोरहेछ । त्यसैले एकतातिरको बहस पनि कुनै न कुनै कोणमा कोशी प्रदेशमा चल्न थालेको छ ।

राजनीतिक निष्ठामा लागेको ग्रहणलाई मेटाउने हो भने कुनै न कुनै रुपमा विचार मिल्नेहरुकै एकता हुनु जरुरी छ । यसतर्फ एउटा फड्को मार्न कोशी प्रदेशबाट सुरुवात हुनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।