लोड हुँदैछ...

मेनु

मेलाको औचित्यबारे उठेका प्रश्न

मेलाको औचित्यबारे उठेका प्रश्न

विराटनगरमा हरेक वर्षजस्तो ब्यापार मेला आयोजना हुन्छ । मोरङ ब्यापार संघको आयोजनामा यो वर्ष मोरङ ब्यापार संघ ट्रेड एक्स्पो सञ्चालन भयो । आयोजकले आर्थिक गतिबिधि चलायमान बनाउन र स्थानीय उत्पादन प्रबद्र्धन गर्न एक्स्पो आयोजना गरेको बताएको छ । एक्सपो अर्थात एक्सपोजिसन् अर्थात प्रदर्शनी । सामान्य अर्थमा स्थानीय उत्पादन, स्थानीय संस्कृति तथा स्थानीय कलाहरु (चित्र, पाक, लेखन, अन्य सीप÷कलाहरु) को प्रदर्शनी र प्रबद्र्धन गर्ने माध्यमलाई एक्स्पो भनिन्छ । तर, विराटनगरमा आयोजना भइरहेका यस्ता एक्स्पोले उद्देश्य अनुसार कति सफल भए भन्ने प्रश्न छ ।

विराटनगरका उद्योगी व्यवसायीहरुले हरेक औपचारिक वा अनौपचारिक फोरमहरुमा अर्थतन्त्र संकटमा रहेको, उद्योग धन्दा र व्यापार व्यवसाय बन्द हुने अवस्था आएको, आफूहरु डुब्दै गएको जस्ता गुनासाका सदाबहार पोका सुनाउने गरेका छन् । अनि उनीहरु नै उत्साहको साथ यस क्षेत्रको व्यवसाय चलायमान बनाउन भन्दै करोडौं खर्चेर एक्स्पो आयोजना गरिरहेका हुन्छन् ।

फोटो खिच्नको लागि एक्स्पोभित्र रहेको आइफिल टावर छ । हरेक साँझ कलाकारहरु जम्मा गरेर सांगितिक कार्यक्रम गरिएको छ । दिउँसो सामान्य उपस्थिति हुने एक्सोपमा सांगितिक कार्यक्रममा भने हजारौं सहभागी हुने गरेका छन् । तर, एक्सपोमा विराटनगरको पहिचान खासै भेटिन्न । कोशी प्रदेशको पहिचान र इतिहास पनि छैन । अर्थतन्त्रमा देखिएका समस्याबारे विमर्श छैन । आर्थिक संकट समाधानको छलफल भएन । भारतबाट ल्याइएका विभिन्न मनोरञ्जनात्मक खेल खोलाहरुहरुेले करोडौं रकम कुम्ल्याएका छन् । ३ मिनेट बालबालिकाहरुले झुला, पिङ खेलेको १०० देखि १५० रुपैयाँ तिर्नुपरेको छ । खानपितमा स्थानीय उत्पादनहरु खासै छैनन् । जाडोको खाजा भक्का, घुँघी, हाँसको मासु, दालपुरी, तिलौरी र तरुवा चप आदि छैनन् । सेल, फापर र तरुलका परिकारहरु पनि छैनन् । बरु होटलहरुमै पाइने विभिन्न आईटमा कफी र मास तथा मिठाईका परिकार नै त्यहाँ छन् । मेलामा उपभोक्ताले स्थानीय उत्पादन खोजेको भेटिन्छ । तर, त्यो कमै मात्र छ । त्यसैले एक्स्पोमाथि प्रश्न उठेको हो । एक्स्पोले रमाइलो मेलाको झल्को दिने धेरै सचेत उपभोक्ताको प्रतिक्रिया सुनिन्छ ।

विराटनगरमा आयोजना हुने मेला, महोत्सव र एक्स्पोमाथि अर्को प्रश्न पनि उठेको छ । हरेक वर्ष आयोजना हुने(कुनै वर्ष त २ वटासम्म) यस्ता मेला र एक्स्पोमा करोडौंको कारोबार हुने भएपनि विजतमा राजश्व छली हुँदै आएको छ । हरेक आर्थिक क्रियाकलाप करयोग्य हुने भएपनि मेला, महोत्सव वा एक्स्पो सञ्चालन गरेबापत अहिलेसम्म कुनै शुल्क, महशुल वा राजश्व प्राप्त नगरेको विराटनगर महानगरपालिकाले जनाएको छ । बरु आयोजकले विगतदेखि उल्टै महानगर र प्रदेश सरकारबाट ‘सहयोग रकम’ लिने गरेका छन् ।

महोत्वसजन्य क्रियाकलापबाट भएको आम्दानीबाट सम्बन्धित संघसंस्थाहरुले आयकर बुझाएका छैनन् । कानून अनुसार एक्स्पो सञ्चालन गर्दा स्टलहरु भाडामा लगाएवापत १० प्रतिशत वहाल कर तिर्नपर्छ, एक्स्पोमा प्रवेश शुल्कको कर र एक्स्पोभित्र रहेका विभिन्न मनोरञ्जनका साधनको मनोरञ्जनात्मक क्रियाकलापबाट हुने आम्दानीको ५ प्रतिशत कर बुझाउनुपर्छ । यस्तै यस्ता कार्यक्रमको प्रतिदिन ५ हजारको दरले शुल्क बुझाउनुपर्छ । तर, विगतमा अहिलेसम्म यस्तो कुनै आम्दानी महानगरले गर्न सकेको छैन ।

एक्स्पोमा प्रवेश शुल्क १०० रुपैयाँदेखि १५० रुपैयाँ आयोजकले लिएको छ । आयोजकको दावी अनुसार ४ लाख सहभागी भएको भए ४ करोडभन्दा बढि रुपैयाँ प्रवेश शुल्क उठेको छ । त्यसको आधाको मात्र शुल्क असुल हुँदा पनि २ करोडभन्दा धेरै असुली भएको छ । त्यसको ५ प्रतिशत १० लाख रुपैयाँ महानगरलाई आम्दानी हुनुपर्छ । एक्स्पोभित्र रहेका झुला, पिङ र अन्य मनोरञ्जनात्मक गतिबिधिमा पनि करोडभन्दा बढिको आम्दानी सञ्चालकले गरेका छन् । त्यसको पनि ५ प्रतिशत ५ लाखभन्दा धेरै हुन्छ । २२० वटा स्टलको आयोजकले असुलेको शुल्कबाट १० प्रतिशत बहालकर तिर्नुपर्छ । सबै गर्दा आयोजकले २५ लाखभन्दा बढि महानगरलाई बुझाउनुपर्ने देखिन्छ । मेला आयोजक व्यापार संघले कानून अनुसार राजश्व बुझाउने प्रतिबद्धता जनाएको छ । यो सरकारात्मक पक्ष हो ।

तर, आयोजक ब्यापार संघ नियमित नविकरण नभई मेला आयोजना गरेको र नविकरण नभएको संस्थासँग प्रदेश सरकारले सम्झौता गरेको प्रश्न पनि उठिरहेको छ । मेला र महोत्सवलाई केहि रकम चन्दा दिने हैन, विराटनगरमा स्थायी प्रदर्शनीस्थल आवश्यक रहेको माग यस क्षेत्रका उद्योगी व्यवसायीको छ । त्यसलाई राज्यले सम्बोधन गर्नुपर्छ । आयोजकले आफ्नो प्रतिबद्धता अनुसार कर र राजश्व सरकारी निकायमा जम्मा गर्नुपर्छ । अर्कोतिर यस्ता मेला र महोत्सवको प्रतिफलबारे पनि सार्वजनिक गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।