विश्वकप छनोट खेलमा ब्राजिल र अर्जेन्टिना पराजित

विराटनगर । फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा पूर्वच्याम्पियनहरु ब्राजिल र अर्जेन्टिना पराजित भएका छन् ।

दक्षिण अमेरिकी क्षेत्रको छनोट अन्तर्गत शुक्रबार विहान सकिएका खेलमा अर्जेन्टिनालाई उरुग्वे तथा ब्राजिललाई कोलम्बियाले पराजित गरेका हुन् ।

घरेलु मैदानमा हार बेहोरेको अर्जेन्टिनामाथि उरुग्वेले दुवै हाफमा एक–एक गोल गर्दै २–० गोलको जित निकालेको थियो । उरुग्वेका लागि रोनाल्ड अराउजोले ४१ र डार्विन नुजेजले ८७ मिनेटमा गोल गरेका थिए ।

यता ब्राजिललाई कोलम्बियाले २–१ गोलले हरायो । घरेलु मैदानमा जित निकाल्ने क्रममा कोलम्बियाका लुइस डियाजले दुई गोल गरे । उनले ७५ र ७९ मिनेटमा गोल गर्दै कोलम्बियालाई पुनरागमन जित दिलाए । त्सअघि ब्राजिलका मार्टिनेलीले चौथो मिनेटमा गोल गर्दै आफ्नो टिमलाई सुरुवाती अग्रता दिलाएका थिए ।

छनोट खेलमा हारपछि पनि अर्जेन्टिना शीर्ष स्थानमै छ । अघिल्ला चार खेलमा लगातार जित निकालेको अर्जेन्टिनाको १२ अंक छ । समूहमा उरुग्वे दोस्रो स्थानमा उक्लिएको छ । उसको १० अंक छ भने कोलम्बिया ९ अंकसहित तेस्रो स्थानमा छ । भेनेजुएला ८ अंकसहित चौथो स्थानमा रहदा ब्राजिल भने ७ अंकसहित पाँचौ स्थानमा झरेको छ ।

शुक्रबार, ०१ मंसिर, २०८०, बिहानको ११:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page