विराटनगर । सुदूरपश्चिमको एनबी ग्रुप धनगढीले प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ ।
दिल्ली युनाईटेडमाथि सुदूरपश्चिमले तीन रनको रोमान्चक जित हात पारेको हो ।
लगातार तीन खेलमा सुदूरपश्चिमले पहिलो जित दर्ता गराउँदै समूह ‘ख’ मा तेस्रो भयो भने पाहुना टोली दिल्लीले लगातार तीन पटक पराजित हुँदै घर फर्किन बाध्य भयो ।
शनिबार विराटनगर जुट मिलको खेल मैदानमा भएको पहिलो खेलमा सुदुरपश्चिमले दिएको १९५ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १९२ रन बनाउन सक्यो । दिल्ली छिनो मतअन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरयो ।
दिल्लीका अलराउन्डर खेलाडी साकेट केडियाले क्रिजमा घातक बलिङ र बिस्फोट ब्याटिङ गरेतापनि जित टिमको पक्षमा पार्न असफल भए । उनले ३१ बलमा ७ छक्का र ४ चौका हिकाउँदै ६१ रनको अर्धशतकीय ईङनिङ खेले । मनिष कुमारले २६ बलमा २ छक्का र ६ चौका प्रहार गर्दै अविजित ४४ रनको योगदान गरे । मोहितले १५ बलमा २० रन पारी खेल्दा अरिन्द्रले ५ बलमा १६ रनको योगदान गर्दा दिल्लीका अरु ब्याटरले दोहोरो अंक छुन सकेनन् ।
बलिङमा सुदुरपश्चिमका दिपक बोहराले चार ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । कैलाशले ४ ओभरमा ४४ रन खर्चेर २ विकेट लिए भने विशाल चौधरी, नरेन साउद र जोगेन्द्र बोहराले समान १–१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाई १९४ रनको विशाल योगफल खडा गरेको थियो । गजेन्द्र बोहराले २६ बलमा ३ छक्का र ६ चौका हिर्काउँदै ५० रनको अर्धशतकीय ईङनीङ खेले । अलराउन्डर खेलाडी दिपक बोहराले १३ बलमा ३२ रन जोडे । उनले २ छकका र ४ चौका हिर्काए । दिपक बोहरा ‘बी’ ले ११ बलमा ३ छक्का हिर्काउँदै २३ रन पारी खेल्दा उत्तम थापा मगरले १८ बलमा २७ रनको योगदान दिए । हरेनले १२ बलमा अविजित २३ रन पारी खेल्दा नरेशले १७ रन बनाए ।
दिल्लीका अलराउन्डर खेलाडी सकेट केडियाले घातक बलिङ गर्दै ४ ओभरमा ३० रन खर्चेर पाँच विकेट लिन सफल भए । अलराउन्डर खेलाडी केडिया खेलको म्यान अफ द म्याच पनि घोषित भए । उनले ५ विकेट र ३१ बलमा ६१ रनको योगदान गरेका थिए ।
यस्तै मोहितले २ विकेट, अंकित गोस्वामी र भुर्माले समान १–१ विकेट लिए ।
अहिले विराटनगर जुटमिलको खेल मैदानमा विभागीय टिम नेपाल पुलिस र घरेलु टिम एनबीएसस क्रिकेट क्लबबीच खेल भइरहेको छ । आज जित्ने टिम फाइनलमा पुग्नेछ । भोली हुने फाइनलमा यसअघि समूह ‘क’ बाट बिजेता भएको नेपाल आर्मी र आज जित्ने टिमसँग उपाधिको लागि भिड्नेछ ।