विराटनगर । तेस्रो संस्करणको मिल्स गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिको लागि आज शनिवार साबिक विजेता सिराहा गोल बजारको प्रतिभा फुटबल क्लब र झापाको ध्रुव तारा युवा क्लबसँग प्रतिस्पर्धा गर्दै छन् ।
तेस्रो संस्करणको उपाधि जित्ने दाउसहित सिराहा र पहिलो पटक उपाधि होल्ड गर्न झापा विराटनगर जुट मिलको खेलमैदानमा दुई टिम आमनेसामने हुने भएको हो ।
सिराहाले बिहीबार गाईघाट फुटबल क्लब उदयपुरलाई ३–० गोलले हराउँदै उपाधि रक्षाको यात्रा तय गरेका हुन् भने यसअघि सेभेन यूथ क्लब धनकुटालाई २– १ गोलले हराउँदै सिराहा सेमिफाइनलमा पुगेको थियो ।
यता झापाले सहलेस युवा क्लब सिराहालाई टाई ब्रेकरमा ५–४ गोलले हराउँदै फाइनल यात्रा सुरक्षित गरेको थियो । क्वाटर फाइनलमा सुनसरीको शान्तिनगर फुटबल क्लबलाई सडनडेथमा १०–९ गोलले हराउँदै झापा सेमिफाइनलमा पुगेको थियो ।
मिल्स गोल्ड कपमा विजयी हुनेमा विश्वस्त रहेको प्रतिभा फुटबल क्लब सिराहाका प्रशिक्षक रञ्जित लामाको दाबी छ । ‘आफ्ना सबै खेलाडीहरूले राम्रो खेलिरहेका छन् । फाइनल जित्ने रणनीतिमा साथ खेलाडी मैदानमा उतार्ने तयारी छ । त्यसैले ढुक्क छौँ, गोल्ड कप हामीले नै जित्छौँ,’ उनले भने । दुई खेलमा आफ्नो टिमको प्रदर्शन चित्तबुझ्दो नै रहेकाले फाइनलमा पनि राम्रो प्रदर्शन गर्ने गरी रणनीति बनाइरहेको उनले बताए । विगतमा मिल्स गोल्ड कपमा दोस्रो संस्करण विजेता बन्न सफल भएको र यो पटक पनि उपाधि जित्ने गरी खेल पस्किने उनको भनाई छ ।
यता झापाका प्रशिक्षक सन्दीप मगरले मिल्स गोल्ड कपको फाइनलमा नतिजा निकाल्ने गरी रणनीति बनाएर मैदान उत्रिने बताए ।
निर्धारित समयभित्रै नतिजा ल्याउने गरी खेल्ने उनले बताए । ‘अहिलेसम्म रणनीतिअनुसार नै नतिजा आइरहेकाले फाइनलमा पनि हामी नतिजा निकाल्न सफल हुन्छौँ भन्ने विश्वास छ,’ उनले भने, ‘अनुभवी खेलाडी रहेका छन् । त्यसैले उपाधि हाम्रै पोल्टामा जान्छ ।’ उनले जित्ने लक्ष्यका साथ मैदानमा खेलाडी उतार्ने रणनीति अपनाउने बताए । प्रशिक्षक मगरले मिल्स गोल्ड कपको उपाधि यस पटक झापा पुग्ने दाबी गरे । उपाधि उचाल्ने रणनीतिकसाथ मैदानमा खेलाडीहरू उत्रने उनको भनाई छ ।
फागुन २७ देखि चैत ४ गते सम्म सञ्चालन भएको गोल्ड कपमा मोफसलका ‘ए’ डिभिजनका ८ वटा टिमको सहभागिता रहेको मिल्स गोल्ड कप फुटबल ट्रस्टका अध्यक्ष किशोर बहादुर शाहीले जानकारी दिए । मिल्स गोल्ड कपको विजेताले २ लाख ११ हजार रुपैयाँको साथै आकर्षक ट्रफि र उपविजेताले १ लाख ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने ट्रस्टका कोषाध्यक्ष विष्णु डङ्गोलले बताए । प्रतियोगिताको फाइनलमा विभिन्न ६ वटा विधाहरूमा खेलाडीहरूलाई नगदसहित ट्रफि प्रदान गरिनेछ ।
दोस्रो संस्करणमा आयोजक साइनो स्पोर्टिङ क्लबलाई हराउँदै गोल बजारको प्रतिभा फुटबल क्लबले मिल्स गोल्ड कपको उपाधि जितेको थियो । पहिलो संस्करणमा एपिएफले गोल्ड कपको उपाधि हात पारेको थियो ।