विराटनगर । विगत एक महिना अगाडिदेखि विराटनगरको औद्योगिक क्षेत्रमा लगातारजसो बिहान र बेलुका लोडसेडिङ भइरहेको छ ।
विद्युत् प्राधिकरणले उद्योगीलाई बेलुका वा बिहान दैनिकजसो साढे २ घण्टादेखि तीन घण्टासम्म उद्योगमा विद्युत् आपूर्ति बन्द हुनसक्ने सूचना दिने गरेको छ । जसका कारण २४ सै घण्टा चल्ने उद्योगहरुमा समस्या थपिएको छ ।
विद्युत् आपूर्तिसम्बन्धी जानकार विराटनगरका उद्योगी राकेश सुरानाले बिहान ३ घण्टा बेलुका ४ घण्टासम्म भइरहेको बताए । ‘बहुत नराम्रो अवस्था छ । यो विद्युत् प्राधिकरणको मिस मेनेजमेन्ट हो । लोडसेडिङ पनि भनिरहेको छैन । तर, लोडसेडिङ भइरहेको छ,’ सुरानाले भने ।
उनका अनुसार प्लाष्टिक र लोहाको उद्योगहरुले ६० प्रतिशत उत्पादन कटौती गरेका छन् । ‘यसको विषयमा विद्युत् प्राधिकरणको डाइरेक्टर कुलमान घिसिङसँग पनि कुरा भएको छ । सबैले यस्तो उस्तो मात्रै कुरा गर्छन् समाधान भएको छैन । उहाँहरुले आफ्नो गुडविललाई मात्रै जोगाइराखे जस्तो लाग्छ,’ सुरानाले भने, ‘संघको उर्जा मन्त्रीलाई पनि विस्तृत जानकारी गराएका छौं ।’
विद्युत् नपुग्नुको कारण भारतबाट आयात नहुनु हो । खोलाबाट उत्पादित विद्युत् आयोजनामा हाल पानीको सतह घटेको छ । जसका कारण विद्युत् उत्पादन पनि घटेको छ । जसका कारण डिमान्ड र सप्लाईको मेनेजमेन्ट गर्न प्राधिकरणलाई समस्या परिरहेको छ ।
उद्योगी सुराना प्राधिकरणले बरु हप्ताको १ दिन वा दुई दिन पुरै उद्योग बन्द गराए आफूहरुलाई सहज हुने बताउँछन् । ‘उद्योलाई हप्ताको एक दिन वा दुई दिन पुरै बन्द गर्न पाए हुनेथियो । दिनै पिच्छे लोडसेडिङ गर्दा उत्पादनमा प्रभाव पर्यो,’ उनले भने ।
यो समस्या समाधान कहिले हुन्छ भन्ने विषयमा पनि चित्तबुझ्दो जानकारी नदिएको उनी बताउँछन् । ‘वर्षाको सिजनमा मात्रै यो समस्या समाधान हुन्छ भन्ने कुरा उहाँहरुले गर्नुभएको छ,’ सुरानाले भने ।
तर, भारतबाट नियमित विद्युत् आयात हुन नसक्नुको कारण मूल्य रहेको सुराना बताउँछन् । यसको समाधानका लागि प्रधानमन्त्रीस्तरबाटै भारतसँग छलफल चलाउनु पर्ने आवश्यकता रहेको उनी बताउँछन् ।
उद्योग संगठन मोरङका प्रबन्ध निर्देशक चुँडामणी भट्टराईले गत पुस १३ गते ( डिसेम्बर २८)देखि बिहान ७ देखि १० र बेलुका साढे ५ बजेदेखि साढे ८ बजेसम्म लोडसेडिङको म्यासेज आउँने गरेको सुनाए । नेपाल विद्युत् प्राधिकरणले भारतबाट विद्युत् आयात गर्न दैनिक टेण्डर हाल्नुपर्छ । टेण्डर हाल्दा सस्तो हाल्ने गरेका कारण विद्युत् आयातमा समस्या भएको हो । ‘टेण्डर पर्दा उद्योग चलाउनु भन्छ, टेण्डर नपर्दा उद्योग बन्द गर भन्छ,’ भट्टराईले भने ।
प्रदेश १ मा पिक आवरको डिमाण्ड २५० मेगावाट रहेको छ । वर्षायाममा प्रदेशको उत्पादनले नै धान्ने अवस्था रहेपनि हिउँदको समयमा भने झण्डै ८० प्रतिशत विद्युत् उत्पादनमा कमि आउँदा भारतको कटैयाबाट विद्युत् आयात गर्नुपर्ने अवस्था छ ।