महिमै धुपका प्यासी धोद्रा आत्मा खडागरी
संघारा मतलवी पण्डा शयन कसी वरिपरी ।
शरणगतको ढोग मन्द बिष बनिकन
प्यारको महल भस्म पार्न लाई दिनदिन ।।
आशको जगते त्यान्द्रो बिलायो तुषारो सरी
उन्मत्त खहरे उर्ली वर्षेर साउने झरी
बगाई लाजको माम्लो आकृति उदांगैं भयो
मन्जील जनको प्रिय खण्डहर बनिगयो ।।
ल्याइते पंक्षीको भीड ब्याइते किनारै भरी
शक्तिको चास्नीमा पौडी अंकमाल गरिगरी ।
बिरालो दूधको साक्षी म्याउँं गर्दै लरिबरी
रित्याई भकारी जम्मै मत्ता भोज सँधैभरी ।।
लम्पट जग्गेमा मस्की चेप्रिलो लवज कसी
बनाइ विधिको खोस्टो मस्ती गर्छ बसिबसी
फोहोरी ढलको गन्धा अमृत बनाइकन
पाखण्ड स्वार्थको चस्मा चौपट जन जीवन ।।
सृष्टिका वाहक उम्दा अँध्यारो गुफाका धनी
धाइको फुर्तीमा वाक्क मान्दै दिन गनिगनी ।
नीतिका पहरे खम्बा धुपको सौखिन अति
मुंग्रेको फेरमा पस्दा लज्जा छैन अलिकति ।।
भीडको उन्मादे स्वर ढंग छैन रति पनि
गुणका खडेरी स्वांठ बनेर मठका धनी ।
जलाई मठकै छाना बिक्दछ खरानी अति
अमूल्य सम्पादा चुस्ने कृतिम साधुको मति ।।
विवेक स्वार्थमा बन्द तरको आसमा बसी
लिसो भै टांसिदै मस्त गिद्दे चिप्लो घसिघसी ।
बित्पाते कुराका भारी मौसमी किराको गति
बौद्धिक भनिदो त्यसले सर्वत्र गर्दछ क्षति ।
बेताले बाँसुरी धुन लठिबज्र हेर कठै !
भावना गुफाको बन्दी अन्धकार जताततै ।
इमान झोसेर भस्म दुष्टकै दर्शक बनी
सडेका बिगुते जोगी पुज्नु पर्ने छ जीवनी
पाकेको बालीमा सांडे सिंगौरी उन्माद गरी
डुक्रिने प्रवृति उसको सुध्रिएन कसैगरि ।
उपाय प्रक्रनु मात्र पुरै गाउँ मिलिकन
बसाल्दै लाठीले नत्र खेद्नु पर्छ बुझ जन ।।