विराटनगर । विराटनगरका उद्योगी एवं समाजसेवी दीनबन्धु गोयलले विराटनगरको कालीमन्दिर व्यवस्थापन समितिलाई १ लाख १ हजार रुपैयाँ प्रदान गरेका छन् ।

समाजसेवी गोयलले कालीमन्दिरमा भइरहेको श्रृङ्गार कार्यका लागि १ लाख १ हजार रुपैयाँ प्रदान गरेका हुन् ।

गोयलले शुक्रबार व्यवस्थापन समितिका अध्यक्ष डा.मीनाक्षी नेपाल र निवर्तमान अध्यक्ष सुदर्शनबहादुर श्रेष्ठलाई रकमको चेक हस्तान्तरण गरे । गोयल आफ्ना स्वर्गीय दाजु ओमप्रकाशका नाममा विगत डेढ दशकदेखि समाजसेवामा सक्रिय छन् ।

व्यवस्थापन समितिका अध्यक्ष डा. नेपालका अनुसार मन्दिरको वाह्य श्रृङ्गारको कार्य १ करोड १५ लाख रुपैयाँ खर्चमा सकिएको छ । अब ४० लाख रुपैयाँ खर्चमाआन्तरिक श्रृङ्गारको काम भइरहेको छ ।

अध्यक्ष डा.नेपालले २० गेजको तामाको पातामा गोल्डेन कलर गरेर मन्दिरको श्रृङ्गार भइरहेको जानकारी दिइन् । श्रृङ्गारको काम काठमाडौंको होसन्न इन्टरप्राइजेज प्रालिले गरिरहेको छ ।
होसन्न इन्टरप्राइजेजले तामाको पाताको १ सय र गोल्डेन कलरको १२ वर्षको ग्यारेन्टी दिएको छ ।

अध्यक्ष डा.नेपालले श्रृङ्गार कार्य सकिएपछि मन्दिर नेपाली शैलीको कलात्मक, आकर्षक र भव्य हुने बताइन् ।