संखुवासभा । संखुवासभामा राष्ट्रिय भूमि आयोग र स्थानीय तहबिच सम्झौता भएको छ । भूमिहीन दलित, सुकुम्वासीलाई जग्गा वितरण गर्ने राष्ट्रिय भूमि आयोग जिल्ला समिति संखुवासभा र स्थानीय तहबिच आइतबार सम्झौता भएको राष्ट्रिय भूमि आयोग जिल्ला समिति संखुवासभाका अध्यक्ष शंकरमान कँडेलले जानकारी दिए ।

संखुवासभामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि सदरमुकाम खाँदवारिमा जिल्लाका १० स्थानीय तह र राष्ट्रिय भूमि आयोग जिल्ला समिति संखुवासभा बिच सम्झौता गरिएको आयोगका अध्यक्ष कँडेलले बताए । १० वटै स्थानीय तहका प्रमुख÷उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा सम्झौता गरेको नापी कार्यालय संखुवासभाका प्रमुख तथा राष्ट्रिय भूमि आयोग सदस्य सचिव लक्ष्मी थापाले जानकारी दिएकी छन् ।

जिल्लाको खाँदवारि,चैनपुर,मादी,पाँचखपन,धर्मदेवी नगरपालिका,चिचिला, मकालु,सभापोखरी,सिलिचोङ र भोट खोला गाउँपालिकाबिच भूमिहीनलाई जग्गा प्रदान गर्न सम्झौता गरिएको सदस्य सचिव लक्ष्मी थापाले बताइन् । स्थानीय तहले राष्ट्रिय भूमि आयोग गठन आदेश २०७८ को दफा ६ को खण्ड ९ग०बमोजिम भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको पहिचान,लगत सङ्कलन र प्रमाणीकरणको काम गर्ने,प्रत्येक स्थान तहले बस्तीको तहगत क्षेत्र तोक्ने लागि स्थानीय तह र राष्ट्रिय भूमि आयोग बिच सम्झौता भएको छ ।

लागत सङ्कलनका लागि वडाका विभिन्न स्थानहरू निर्धारण गर्न र भूमिहीन दलित, भूमिहीन सुकुम्वासीको लगत सङ्कलन निवेदन दर्ता भएको तथ्याङ्क राख्ने लगायत जिम्मेवारी स्थानीय तहलाई दिइएको छ ।

त्यस्तै आयोगले अव्यवस्थित बसोबासीको पहिचान र प्रमाणीकरण लागि आधार र मापदण्ड, आवश्यक कार्यविधि उपलब्ध गराउने,अव्यवस्थित बसोबासीको लगत सङ्कलन सम्बन्धी कार्यविधि, २०७८ को अनुसूची ३ र ४ अनुसारको ढाँचामा निवेदन फाराम उपलब्ध गराउने,सम्बन्धित नापी कार्यालय मार्फत जग्गा नाप नक्सा गर्न टोली खटाउन सक्ने उल्लेख छ ।