संखुवासभा ।स्वास्थ्य कार्यालयले संखुवासभालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गर्न सिफारिस गरेको छ । आइतबार बसेको जिल्ला खोप समन्वय समितीको बैठकले पूर्णखोप सुनिश्चित जिल्ला घोषणाका लागि १० वटै स्थानीय तहलाई अनुमति समेत दिएको छ । जिल्लाका १० वटै स्थानीय तहमा गरिएको सुलभ सर्वेक्षण प्रतिवेदनबाट समेत सबै बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चित गरिएसँगै यो वर्ष संखुवासभा जिल्ला पूर्णखोप सुनिश्चित दिगोपना घोषणा हुने भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
१० वटै स्थानीय तहका बालबालिकाले १५ महिनाको उमेरभित्र लगाउनु पर्ने सबै खोप पूरा गरिसेका कारण संखुवासभा जिल्लालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणाका लागि प्रदेश खोप समन्वय समितिमा सिफारिस गरेको स्वास्थ्य कार्यालय संखुवासभाका सूचना अधिकारी एवम् खोप कार्यक्रम संयोजक रोशन श्रेष्ठले जानकारी दिए । पूर्णखोप सुनिश्चित गर्नुपर्ने प्रावधान अनुसार आर्थिक वर्ष २०७८/०७९ पूर्णखोप सुनिश्चित घोषणाको सम्पूर्ण प्रक्रिया पुरा गरी प्रदेश खोप समन्वय समितिमा सिफारिस गरिएको खोप कार्यक्रम संयोजक श्रेष्ठले बताए ।
पूर्णखोप सुनिश्चित जिल्ला घोषणा प्रक्रिया अनुसार वडा खोप समन्वय समितिबाट पालिका खोप समन्वय समितिमा, पालिका खोप समन्वय समितिबाट जिल्ला खोप समन्वय समितिमा र जिल्ला खोप समन्वय समितिबाट प्रदेश खोप समन्वय समितिमा सिफारिस गरी पठाउनुपर्ने प्रावधान रहेको खोप कार्यक्रम संयोजक श्रेष्ठले बताए । सरकारको प्रवधान अनुसारनै संखुवासभा जिल्लाले सबै प्रक्रिया पूरा गरिसकेको उनको भनाइ छ । संखुवासभा जिल्लामा वार्षिक ३ हजार १०० बालबालिकाहरुलाई पूर्णखोप लगाउनुपर्ने सरकारले लक्ष्य राखेको थियो । लक्ष्य अनुसारनै स्वास्थ्य कार्यालयले स्वास्थ्यकर्मीको प्रत्यक्ष संलग्नतामा घरधुरी सर्वेक्षण समेत गरिसकेको खोप कार्यक्रम संयोजक श्रेष्ठले बताए ।
१५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै प्रकारका खोप बालबालिकालाई लगाइसकिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
१० स्थानीय तहमध्ये सिलिचोङ गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता घोषणा गरिसकेको छ । अन्य ९ स्थानीय तह घोषणको तयारीमा रहेको बताइएको छ । स्वास्थ्य नै मानव जीवनको धन भएकाले सबै उमेर समूहका नागरिकले स्वास्थ्य संस्थाबाट खोप पाउनु पर्ने जिल्ला समन्वय समितिका उप प्रमुख एवम् जिल्ला खोप समन्वय समितिका सह संयोजक तथा जिल्ला समन्वय समितिका उपप्रमुख बबिता खत्रीले बताइन् । पूर्णखोप सुनिश्चित जिल्ला घोषणाका लागि जिल्ला समन्वय समितिको तर्फबाट आवश्यक सक्दो सहयोग गर्ने उपप्रमुख खत्रीले बताए ।
कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाह्रकोटीले नियमित खोप कार्यक्रमको प्रगति–पूर्णखोप सुनिश्चितता दिगोपनाको प्रक्रिया र प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमा खाँदबारी नगरपालिका नगरप्रमुख महेश थपलिया, प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडा, जिल्ला समन्वय अधिकारी, जिल्ला अस्पताल, रेडक्रस, उद्योग वाणिज्य संघ, गैर सरकारी संस्था, पत्रकार, महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका लगायत समितिका अन्य सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।