उदयपुर । एक वर्षअघि कोशी प्रदेशका जिल्ला अस्पतालहरूमध्ये उत्कृष्ट अस्पतालको सम्मान प्राप्त गरेको उदयपुरस्थित प्रादेशिक जिल्ला अस्पताल यतिबेला आफैं उपचारको प्रतीक्षामा रहेको बिरामीजस्तै देखिएको छ । प्रदेश सरकारले उत्कृष्ट सेवा प्रवाहको नमुना भन्दै सम्मानित गरेको अस्पताल अहिले आधारभूत सामग्री अभाव, आर्थिक अव्यवस्था, प्रशासनिक विवाद र व्यवस्थापनको कमजोरीका कारण गम्भीर संकटमा फसेको छ ।
अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव छैन । स्त्री तथा प्रसूति रोग, नवजात तथा बालरोग, हाडजोर्नी तथा नसा रोग, दन्तरोगलगायतका विशेषज्ञ सेवा उपलब्ध छन् । विभिन्न प्रकारका शल्यक्रियासमेत हुँदै आएका छन् । तर अस्पतालभित्रको अवस्था यस्तो बनेको छ कि चिकित्सकहरू स्वयंले ‘डाक्टर छन्, तर सेवा छैन’ भन्नुपर्ने अवस्थामा पुगेका छन् ।
५० शय्याभन्दा बढी क्षमताको अस्पतालका अधिकांश वार्ड अहिले खाली छन् । अक्सिजन आपूर्ति ठप्प छ । प्रयोगशाला सेवा बन्दप्रायः छ । एक्स–रे सेवा प्रभावकारी छैन । हेमोडायलाइसिस सेवा संकटमा छ । उपचारका लागि आवश्यक सामान्य सामग्रीसमेत अभाव भएपछि चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आन्दोलनको तयारीमा पुगेका छन् ।
शनिबार अस्पतालकै सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले अस्पतालको वास्तविक अवस्था सार्वजनिक गर्दै तत्काल समस्या समाधान नभए आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएका छन् ।
उदयपुर अस्पताललाई गत वर्ष कोशी प्रदेश सरकारले उत्कृष्ट जिल्ला अस्पतालका रूपमा सम्मान गरेको थियो । सेवा विस्तार, विशेषज्ञ चिकित्सकको उपलब्धता, बिरामीको चाप र व्यवस्थापनका आधारमा अस्पताललाई उत्कृष्ट घोषणा गरिएको थियो । तर एक वर्ष नबित्दै अस्पतालको अवस्था उल्टो दिशातर्फ गएको देखिन्छ । अस्पतालका चिकित्सकहरूका अनुसार समस्या चिकित्सक वा स्वास्थ्य सेवासँग सम्बन्धित नभई प्रशासनिक तथा आर्थिक व्यवस्थापनसँग जोडिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै चिकित्सकहरूले अस्पताल सञ्चालनका लागि अत्यावश्यक सामग्रीसमेत खरिद हुन नसकेको बताए । उनीहरूका अनुसार फिल्टर, साबुन, सर्फ, गज, पञ्जा, कुचोलगायतका दैनिक प्रयोगका सामग्री अभाव हुनु आफैंमा अस्पतालको संकटको संकेत हो ।
चिकित्सकहरूका अनुसार अस्पतालमा बिरामीको उपचारका लागि आवश्यक औषधि र उपकरण व्यवस्थापनभन्दा प्रशासनिक विवाद र आर्थिक अन्योल बढी हाबी भएको छ । अस्पतालको सबैभन्दा गम्भीर समस्या अक्सिजन अभाव बनेको छ । सामान्यतया जिल्ला अस्पतालमा अक्सिजन सेवा अत्यावश्यक मानिन्छ । श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामी, सघन उपचार आवश्यक पर्ने बिरामी, आकस्मिक अवस्थामा ल्याइएका घाइते तथा शल्यक्रियापछिका बिरामीका लागि अक्सिजन अनिवार्य सेवा हो ।
तर उदयपुर अस्पतालमा केही सातादेखि अक्सिजनको आपूर्ति अवरुद्ध भएको चिकित्सकहरूले बताएका छन् । पत्रकार सम्मेलनमा डा. कृष्णकुमार यादवले भने, ‘अस्पतालमा अक्सिजनजस्तो आधारभूत सेवा नै उपलब्ध छैन भने बिरामीको उपचार कसरी गर्ने ? अहिले हामीले बिरामीलाई आवश्यक सेवा दिन नसक्ने अवस्था सिर्जना भएको छ ।’ उनका अनुसार अक्सिजन अभावले चिकित्सकहरूलाई समेत मानसिक दबाबमा राखेको छ । कुनै पनि बेला जटिल बिरामी आए उपचार गर्न कठिन हुने अवस्था बनेको छ ।
अस्पतालको प्रयोगशाला सेवा पनि लगभग ठप्प अवस्थामा पुगेको छ । सामान्य दिशापिसाब परीक्षण, रगत परीक्षण तथा कम्प्लिट ब्लड काउन्ट (सीबीसी) जस्ता आधारभूत परीक्षणसमेत नियमित हुन सकेका छैनन् । यसका कारण अस्पताल आएका बिरामीहरू निजी प्रयोगशालामा परीक्षण गराउन बाध्य भएका छन् । यसले एकातिर बिरामीको आर्थिक भार बढाएको छ भने अर्कोतर्फ सरकारी अस्पतालप्रतिको विश्वाससमेत कमजोर बनाएको छ ।
चिकित्सकहरूका अनुसार प्रयोगशाला सेवा प्रभावकारी नहुँदा रोगको पहिचान र उपचार प्रक्रियासमेत प्रभावित बनेको छ । अस्पतालमा दुईवटा एक्स–रे प्रिन्टर हुँदाहुँदै थप नयाँ प्रिन्टर खरिद गरिएको विषयले पनि विवाद निम्त्याएको छ । चिकित्सकहरूको भनाइमा आवश्यकता मूल्यांकन नगरी गरिएका खरिद निर्णयले अस्पतालको सीमित स्रोतको दुरुपयोग भएको छ । हाल एक्से रे सेवा पनि बन्द छ । उनीहरूका अनुसार आवश्यक सामग्री खरिदका लागि बजेट अभाव देखाइँदा अनावश्यक क्षेत्रमा खर्च गरिएको छ, जसले अस्पताल सञ्चालन झन् कठिन बनाएको छ । उदयपुर अस्पतालमा सञ्चालित हेमोडायलाइसिस सेवा पूर्वी नेपालका विभिन्न जिल्लाका बिरामीका लागि महत्वपूर्ण मानिन्छ । उदयपुर, खोटाङ, ओखलढुंगा, भोजपुर तथा सिराहाका कतिपय बिरामीले नियमित रूपमा यही अस्पतालबाट सेवा लिँदै आएका छन् । तर आवश्यक सामग्री तथा व्यवस्थापन अभावका कारण हेमोडायलाइसिस सेवा पनि प्रभावित भएको चिकित्सकहरूले बताएका छन् । मिर्गौला रोगीका लागि हप्तामा दुई वा तीनपटक नियमित डायलाइसिस आवश्यक पर्ने भएकाले सेवा अवरुद्ध हुँदा बिरामीको जीवन नै जोखिममा पर्न सक्छ । स्वास्थ्य सेवा संकटसँगै चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको मनोबल पनि कमजोर बनेको छ ।
विशेषज्ञ चिकित्सकहरूले विगत छ महिनादेखि प्रोत्साहन भत्ता नपाएको बताएका छन् । मेडिकल अधिकृतहरूले चार महिनादेखि अतिरिक्त भत्ता पाएका छैनन् । चालु आर्थिक वर्षको खाजा भत्तासमेत वितरण हुन सकेको छैन । ज्यालादारी कर्मचारीहरूले पोशाक भत्ता नपाएको गुनासो गरेका छन् । चिकित्सकहरूका अनुसार उनीहरूले पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको कारण अन्ततः सार्वजनिक रूपमा बोल्न बाध्य भएका हुन् । अस्पतालका स्वास्थ्यकर्मीहरूले अस्पतालको लेखा तथा प्रशासनिक संयन्त्रलाई समस्याको प्रमुख कारणका रूपमा औँल्याएका छन् ।
उनीहरूका अनुसार अस्पताल विकास तथा व्यवस्थापन समितिले गरेका निर्णय कार्यान्वयन नगर्ने, कार्यालय प्रमुखका निर्देशन बेवास्ता गर्ने तथा अस्पताल सञ्चालनसँग सम्बन्धित काममा अनावश्यक अवरोध सिर्जना गर्ने प्रवृत्तिले समस्या झन् गहिरिएको छ । चिकित्सकहरूले अस्पतालको आर्थिक पारदर्शितामाथि पनि प्रश्न उठाएका छन् ।
उनीहरूको भनाइमा अस्पतालसँग आवश्यक औषधि, उपकरण तथा उपचार सामग्री खरिदका लागि बजेट अभाव रहेको भनिए पनि वास्तविक आय–व्यय विवरण सार्वजनिक गरिएको छैन। विभिन्न शीर्षकमा प्राप्त बजेट समयमै खर्च हुन नसक्दा अस्पताल सञ्चालनमै असर पुगेको दाबी उनीहरूको छ ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. मुकेश झाले अस्पतालभित्र समस्या रहेको स्वीकार गरेका छन् । उनका अनुसार अस्पतालमा पर्याप्त विशेषज्ञ चिकित्सक भए पनि आवश्यक सामग्री र व्यवस्थापन अभावका कारण सेवा प्रवाह प्रभावित भएको हो । उनले भने, ‘हामीसँग सेवा दिने जनशक्ति छ । विशेषज्ञ चिकित्सक छन् । तर अस्पतालभित्रका समस्याका कारण सेवा दिन सक्ने अवस्था छैन । अहिले अधिकांश वार्ड खाली छन् । ल्याब सेवा बन्द छ । सामान्य उपकरण अभावमा समेत सेवा दिन सकिएको छैन ।’ उनका अनुसार अस्पतालमा समस्या समाधान गर्न पटक–पटक प्रयास गरिए पनि अपेक्षित परिणाम आउन सकेको छैन । हाडजोर्नी विशेषज्ञ डा. रुपेश केसीले सरकारी अस्पतालमा देखिने कमजोरीका लागि सधैं चिकित्सकलाई दोष दिने गरिएको बताए । तर उदयपुर अस्पतालको वर्तमान अवस्था भने चिकित्सकको लापरबाहीका कारण नभई व्यवस्थापनको असफलताले सिर्जना भएको उनको भनाइ छ । ‘चिकित्सक अस्पतालमा उपस्थित छन्, बिरामी हेर्न तयार छन् । तर आवश्यक उपकरण, सामग्री र व्यवस्थापन नहुँदा सेवा दिन कठिन भएको छ’ उनलेभ भनेन ।
जिल्ला समन्वय समिति उदयपुरका प्रमुख तथा अस्पताल विकास समितिका अध्यक्ष गौरबहादुर विश्वकर्माले अस्पताल प्रशासन, लेखा शाखा र चिकित्सकबीच समन्वय अभावका कारण समस्या जटिल बनेको स्वीकार गरेका छन् । उनले विवाद समाधानका लागि पहल भइरहेको बताए । तर चिकित्सकहरू भने ठोस निर्णय र कार्यान्वयन नभएसम्म आन्दोलनका कार्यक्रम फिर्ता नहुने बताउँछन् ।
उदयपुर अस्पताल उदयपुर जिल्लामात्र नभई आसपासका पहाडी तथा तराई जिल्लाका नागरिकका लागि पनि प्रमुख सरकारी स्वास्थ्य संस्था हो । यदि अहिले देखिएको विवाद र संकट समयमै समाधान हुन सकेन भने आकस्मिक सेवाबाहेक अन्य अधिकांश सेवा बन्द हुने खतरा रहेको चिकित्सकहरूको चेतावनी छ । हजारौँ नागरिकको स्वास्थ्य सेवामा प्रत्यक्ष असर पर्नेछ ।
एक वर्षअघि उत्कृष्टताको सम्मान पाएको अस्पताल आज आफ्नै अस्तित्व जोगाउने संघर्षमा छ । प्रश्न यति मात्र हो–प्रदेश सरकार र सम्बन्धित निकायले यो संकट समाधान गर्न कति चाँडो कदम चाल्छन् ? यदि ढिलाइ भयो भने यसको मूल्य बिरामीहरूले आफ्नो स्वास्थ्य र जीवनबाट चुकाउनु पर्नेछ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।