
कुमार लुइँटेल
“हाम्रो जग्गा जमिन छैन, अब भन्नुहोस् तपाई हाम्रा लागि के गर्नुहुन्छ ?” मैना राजवंशीले मत माग्न आएका मेयर पदका उमेदवारलाई हाकाहाकी प्रश्न गरिन् । भोट माग्न आएका उमेदवार एकछिन् त अक्मकाए । “पहिले आउनेले पनि यो गर्छु त्यो गर्छु धेरै भने, जितेर गए तर फेरि फर्केर आएनन्,” राजवंशीले विगतबारे पनि सम्झाइन् ।
झापाको मेचीनगर नगरपालिका वडा नम्बर १३ को दक्षिणमा पर्ने दुआगढीमा पुगेका एमालेबाट मेयरका उमेदवार गोपालचन्द्र बुढाथोकीले राजवंशीलाई आफूले धोका नदिने विश्वास दिलाउन कोसिस गरे । मेचीनगरको उत्तरी भेग कालिझोडमाा गठबन्धनको चुनावी सभा चलिरहेको थियो । वर्तमान मेयर बिमल आचार्यले त्यहाँ अर्जुनधारा र मेचीनगरबीचको सीमा विवादबारे भाषण गरे । त्यसलाई अब जसरी पनि मिलाउनुपर्ने बताए । तर, स्थानीयहरु भने यो विवाद चुनावी मुद्दा मात्र बन्ने गरेको गुनासो गर्दैथे । त्यहाँ कांग्रेसबाट मेयरका उमेदवार इन्द्र बुढाथोकीले जनचाहनाअुरुप सिमाना विवाद मिलाउन आफूले दुबै पालिकाबीच छलफल चलाउने बताए ।
चुनावी रिपोर्टिङमा विराटनगर बाहिर निस्किएको एक साता भयो । यो अवधिमा चौरस्ता सहर इटहरी उपमहानगरपालिका, एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीको गृहनगर दमक नगरपालिका, कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको प्रभाव क्षेत्र मानिएको विर्तामोड नगरपालिका र कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर मेचीनगरसम्म पुगियो । मतदाताका कुरा सुनें । उमेदवारका प्रतिबद्धताबारे प्रश्न गरें । दलका चुनावी तिकडम र रणनीतिबारे जानकारहरुसँग छलफल गरें ।
धेरै विषयगत समाचार बनें । ठाउँ नै पिच्छे फरक देखिएका छन् । समानता छ त एउटै कुरामा “नेता प्रतिवद्धता जनाएर चुनाव जितेर जान्छन् त्यसपछि भुइँमान्छेलाई गन्दैनन् आफूलाई शासक ठान्छन् ।”
मागुरमाढीमा राप्रपाको चुनावी सभा चलिरहेको थियो । मेयरका उमेदवारले नारा लगाउने थाले, भोट केमा– रुखमा….. भोट केमा– रुखमा ! राप्रपाका उम्मेदवारले रुखमा भोट मागेको सुनेर उपस्थित सर्वसाधारण र कार्यकर्ता छक्क परे । राप्रपा कांग्रेससँग तालमेलमा छैन । तर, राप्रपाका उमेदवार रमेश दाहालले झुक्किएर भोट केमा हलोमा भन्नुको साटो रुखको नारा लगाएका रहेछन् । खासमा उनी यसअघि मेचनीनगरको कांग्रेस नगरसचिव भएर काम गरेका नेता थिए । राप्रपामा आएपनि रुखको धङधङकी कायमै रहेजस्तो बुझियो ।दाहालको ‘टङ्ग स्लिप’ भएको उपस्थित कार्यकर्ता र मतदाताले पनि बुझ्न समय लागेन ।
दमक वडा नम्बर ५ मा चुनावी प्रचारमा खटिएको सिटी सफारी रोक्दै प्रहरीले सानो झन्डा लगाउन आग्रह गर्यो । प्रचारमा खटेका कार्यकर्ताले हुन्छ भन्नै स्विकारोक्तिसहित रिक्सा अघि बढाए । केही पर प्रचार समितिको कार्यालय पुगे अनि झण्डा हटाए । निर्वाचन आयोगले निर्वाचन आचारसंहितको विषयमा गरेको कडाई दमकमा काम लाग्यो ।
दक्षिणतर्फ झापाको शिवसताक्षी नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकातिर पनि झरें । सबैतिर चुनावी माहोल हेर्न लायक छन् । कार्यकर्ता र सर्वसाधारणमा चुनावप्रति उत्साहित भएर खटिएका छन् । स्थानीय तहमा नयाँ नेतृत्व चुन्न मतदाता उत्तिकै लालायित देखिन्छन् । घर–घरमा टांगिएका झन्डा, तुल र ब्यानरले गाउँ झकिझकाउ छन् ।
सहरमा भन्दा गाउँमा मौलिक ढंगले चुनावी प्रचार भईरहेका छन् । ट्याक्टर जुलुसदेखि साइकल जुलुससम्म निस्किएका छन् । मौलिक गीतमा नाचगान गर्दै मत माग्नेहरु पनि उत्तिकै सक्रिय भएका छन् । ढ्यांग्री बजारमा सन्थाल युवतीहरु मौलिक परिधानमा सजिएर मत मागिरहेका थिए ।
मंगलबार मोरङको दक्षिणी भेगका पालिकाहरु दौडाह गर्दा त्यहाँ चुनावी माहोल गजब रमाइलो देखियो । एकजना उमेदवारको निवासमै पुगियो । त्यहाँ लावालस्करसहित मानसिहरु चना भूजा खाईरहेका थिए । मन मानेन, लाइनमा बसियो अनि अघाउन्जेल खाईयो । चुनावका बेला उमेदवारले तराईमा भोजभतेर गराउने विषय सामान्य नै हो ।
रंगेली, धनपालथान हुँदै कटहरीसम्मको वस्तुस्थितिले मतदाता र सर्वसाधारणमा चुनावले रमाइलो माहोल बनाईदिएको छ । चुनाव त सबैतिर लागेकै छ । तर, गठबन्धनको झमेला । एक दलकाले अर्कोलाई मतदान गर्दा हुनसक्ने गल्ती र बदर मतको विषयमा उमेदवार आफैं चिन्तित देखिएका छन् । आउने मत समेत बिग्रने हो कि भन्ने धेरैलाई परेको छ ।
गठबन्धनका नाममा भएको टिकट वितरणबाट असन्तुष्टहरुका कारण राजनीतिक दलको टाउको दुखाई कम भएको छैन । बरु बढेको छ । दलहरुले मत हाल्ने विधि र चुनाव चिन्हको विषयमा मतदातालाई मतदाता शिक्षा नदिलाउने हो भने यो पटकको निर्वाचनमा पनि बदर मतको संख्या धेरै हुने देखिन्छ । त्यसका लागि पनि दलले आफैं अभियान चलाए हुने रहेछ ।