अध्यक्ष कप क्रिकेटमा जहदा २ लाई सफलता

विराटनगर । मोरङको जहदा गाउँपालिकामा जारी ‘अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट–२०७८’ को सोमबारको तेस्रो खेलमा जहदा–२ ले सफलता हात पारेको छ ।

जहदा गाउँपालिका वडा नं. ६ स्थित पोखरिया खेल मैदानमा भएको टुर्नामेन्टमा जहदा–२ ले जहदा–३ लाई ४ विकेटले पराजित गरेको हो । टस हारेर ब्याटिङ गरेको जहदा–३ ले निर्धारित २० ओभरको खेलमा १८ ओभरमा सबै विकेट गुमाई १६५ रनको स्कोर खडा गरेको थियो । जहदा–३ का लागि भोला राजवंशीले सर्वाधिक ३६ रन जोडदा मुकेश ऋषिदेवले ३० र इरसाद आलमले २७ रनको योगदान दिए । जहदा–२ का लागि सुरज ऋषिदेवले ५ विकेट लिँदा अखिलेश मण्डलले २, अभिनाश मण्डलले १ र विकास मण्डलले १ विकेट लिएका थिए ।

१६६ रनको लक्ष्य पाएको जहदा–२ ले १६ औं ओभरको प्रगतिमा ६ विकेट गुमाई सो विजयी लक्ष्य भेट्टाएको थियो । जहदा–२ का ‘म्यान अफ द म्याच’ अरुण मण्डलले ६० रन बनाउँदा अभिषेक मण्डलले ३४ र मिथुन ऋषिदेवले २८ रन जोडेका थिए । जहदा–३ का लागि मुकेश ऋषिदेवले २ विकेट लिँदा रोहन राजवंशी, प्रदीप राजवंशी र भोला राजवंशीले १–१ विकेट लिएका थिए । म्यान अफ दि म्याच भएका अरुण मण्डललाई लक्ष्मीनिया युवा क्लबका केन्द्रिय अध्यक्ष नितेश कुमार साहले कप र प्रमाण पत्र प्रदान गरे ।

लिगकम नकआउटको आधारमा वैशाख ३ गतेसम्म चल्ने वडास्तरीय क्रिकेट टुर्नामेन्टको चौथो खेल चैत्र २९ गते मङ्गलबार जहदा–६ र आयोजक लक्ष्मिनिया युवा क्लबबीच हुने क्लबका जहदा–५ शाखा अध्यक्ष सरोज महतोले जानकारी दिए । आयोजकका अनुसार जहदा गाउँपालिकाका ७ वटै वडाको सहभागिता रहेको टुर्नामेन्टको फाईनल वैशाख ३ गते हुनेछ । खेलको विजेता तथा उप–विजेताले भने क्रमशः ३१ हजार र २१ हजार रुपैयाँको नगद पुरस्कारसहित मेडल, प्रमाण–पत्र र रनिङ शिल्ड प्राप्त गर्नेछन् ।

सोमबार, २८ चैत, २०७८, साँझको ०७:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर