लोड हुँदैछ...

मेनु

‘एक्लै चुनाव लड्ने तयारीसाथ क्रियाशील छौं’

‘एक्लै चुनाव लड्ने तयारीसाथ क्रियाशील छौं’

प्रदेश १ मा नेकपा (माओवादी केन्द्र) अहिले के गर्दैछ ? अधिवेशनपछि पार्टी कसरी अगाडि बढ्दैछ ?

प्रदेश १ को अधिवेशनपछि प्रदेश १ को अधिवेशन सम्पन्न भएपछि पार्टीलाई नयाँ गतिमा अगाडि बढाउने प्रयत्न गरेका छौं । अधिवेशनपछि प्रदेश समितिको बैठक बसेर कार्ययोजना बनाएर काम आरम्भ गरेका छौं । प्रदेशका १३७ पालिकामध्ये आधाभन्दा बढी पालिकाको बैठक सम्पन्न गरेका छौं । धेरै वडाहरुमा बैठक सम्पन्न भएको छ र टोल तथा सेल कमिटीहरु निर्माण गरिएको छ । अहिले हाम्रो मुख्य ध्यान पार्टीलाई कसरी विधि र अनुशासनभित्र राखेर सञ्चालन गर्ने भन्नेमा छ । त्यसअनुसार कार्यविधि निर्माण गरेर कामलाई व्यवस्थित गर्दै अगाडि बढेका छौं ।

जिल्ला समन्वय कमिटीहरु गठनमा किन ढिलाई भएको हो ? यसबाट काम प्रभावित भएको छैन ?

हामीले गत माघ ११ गते प्रदेश कमिटीको बैठकबाट १४ मध्ये ९ वटा जिल्लाको समन्वय कमिटी गठन गरिसकेका छौं । अब ५ वटा जिल्लामा समन्वय कमिटी गठन गर्न बाँकी छ । जिल्लाहरुमा सर्वसम्मत नबनेका कारणले मात्र गठनमा ढिलाइ भएको हो । विवादले गर्दा होइन । प्रदेशले हस्तक्षेप गर्नुभन्दा केही समय लिएर तलबाटै सहमति खोज्ने प्रयास गरिएको छ । कतिपय जिल्लाहरुले सहमति गरेर हामीलाई निर्णय पठाइसकेका छन् । बाँकीले पनि केही दिनभित्रै सहमति बनाएर पठाउँछौं भनेकोले प्रदेश पार्टीले पर्खिरहेको छ । छिट्टै सबै जिल्ला समन्वय कमिटीहरुलाई पूर्णता दिएर पार्टी आफ्नो कार्ययोजना अनुसार अघि बढ्छ ।

सरकारले स्थानीय तहको निर्वाचनको घोषणा गरिसकेको अवस्थामा निर्वाचनको तयारी कसरी गर्दै हुनुहुन्छ ?

निर्वाचनका लागि हामी अलि नयाँ ढंगले तयारी गर्दैछौं । हामीले विभिन्न कोणबाट निर्वाचनक लक्षित कार्यक्रम तर्जुमा गरेर काम गरिरहेका छौं । पार्टीको महाधिवेशनबाट पारित विचार र योजनाहरुलाई पनि यही सन्दर्भमा तल्ला कमिटीसम्म सम्प्रेषण गर्दैछौं । चुनाव केन्द्रीत कार्यक्रमहरु र रणनीतिहरु तर्जुमा गर्ने काममा जुटिरहेका छौं । २०७४ सालको निर्वाचनमा हामीले प्रदेश १ का ९ वटा स्थानीय तहमा अध्यक्ष जितेका छौं । अबको निर्वाचनमा त्यसलाई बढाएर कम्तिमा पनि ५० वटा पालिकामा जित हासिल गर्नेगरी हामीले पार्टीको कामलाई केन्द्रीत गरेका छौं । सोही बमोजिम कार्ययोजना बनाएर अगाडि बढेका छौं । त्यसका लागि आवश्यक पर्ने संगठन निर्माण गर्ने, विकास योजना र अन्य स्रोतहरु तिनै पालिकाहरुमा लक्षित गरेर हामी अघि बढ्दैछौं । हामी प्रदेश १ मा पार्टीलाई नयाँ ठाउँमा पु¥याउने छौं ।

तपाईंले भनेजस्तो आधार देख्नुहुन्छ ? पार्टी संगठन र परिचालनको अवस्थालाई हेर्दा ५० वटा तह जित्ने विषय त्यति सजिलो होला र ?

हामी जित्नसक्ने अवस्थामा छौं । हामीले पार्टी, मोर्चा र जनसंगठनहरुको बैठकहरु सम्पन्न गरेका छौं । आजकै अवस्थामा त्यसको ग्राउण्ड तयार भइरहको छ । हामीले जित्ने आधारहरु छन् र त्यस अनुसार छलफल अगाडि बढाएका छौं । चुनावसम्म पुग्दा हामी त्यो उपलब्धि हाशिल गर्ने ठाउँमा पार्टीलाई पु¥याउँछौं । त्यसै लक्ष्य अनुसार अनुसारको योजना बनाएर अघि बढ्छौं ।

विपक्षीहरुले माओवादी केन्द्र एक्लै चुनावमा जान सक्दैन भनिरहेका छन् । के माओवादी एक्लै चुनाव लड्न नसक्ने अवस्थामा पुगेको हो ?

नेकपा माओवादीले अहिलेसम्म एक्लै चुनाव लड्ने तयारीमा छ । हामीले तल्ला तहसम्मको कमिटी एक्लै चुनाव लड्न र जित्नका लागि बनाएका हौं । हामी एक्लै चुनावमा जाँदा कम्तिमा पनि ५० वटा तह जित्ने गरी कार्ययोजना तयार पारेर अघि बढेका छौं । यति भन्दैगर्दा हामी गठबन्धनको विरोधी होइनौं । गठबन्धन आवश्यकताले निर्धारण गर्ने कुरा पनि हो । त्यसैले गठबन्धनका लागि पनि हामी खुला छौं । तर, तयारी भने एक्लै लड्ने उद्देश्यका साथ नै अघि बढाएका छौं ।

सत्ता गठबन्धन र विशेष गरेर नेकपा समाजवादीसँग आगामी चुनावमा कसरी सहकार्य गर्नुहुन्छ ? कि उनीहरुसँग पनि गठबन्धन गर्नुहुन्न ?

हाम्रो तयारी एक्लै चुनावमा जाने छ । गठबन्धनमा हामी पाँच दल छौं । तर, सबै स्थानीय तहमा पनि त्यो गठबन्धन हुन्छ भन्ने निश्चित छैन । त्यसैले गठबन्धन हेरेर हामीले संगठन गर्ने होइन । हामी कसरी जनताका बीचमा बलियो हुने भन्ने मुख्य कुरा हो । नेकपा एकीकृत समाजवादी पार्टी पनि गठबन्धनमा छ । तर, आगामी स्थानीय तहको निर्वाचनमा उहाँहरु कसरी जानुहुन्छ भन्ने विषयमा हामीसँग कुनै कुरा भएको छैन । उहाँहरु पनि चुनावकै तयारी गरिरहनुभएको होला । सहकार्य कसरी जान्छ हामी खुला नै हुनुपर्छ । हामी गठबन्धन गर्नैहुन्न भन्ने पक्षमा छैनौं । तत्कालीन अवस्था अनुसार हामी निर्णय लिएर अघि बढ्छौं ।

राष्ट्रिय राजनीतिलाई यतिबेला प्रभावित गर्ने एमसीसीको मुद्दाले जनस्तरमा कस्तो असर गर्ला ? स्थानीय जनताले कस्तो प्रतिक्रिया दिएको महशुस गर्नुभएको छ ?

वास्तवमा एमसीसी घातक भएरै आएको छ । यो पार्टीको सन्दर्भमा र गठबन्धनमा पनि यसले असर गर्ने देखिन्छ । राष्ट्रिय राजनीतिमा यसले ठूलो बहस सिर्जना गरेको छ । जनताले एमसीसी ठिक छैन भनिरहेका छन् । हाम्रो राष्ट्रियता र राष्ट्रिय स्वाधीनतामा यसले हस्तक्षेप गर्छ भन्ने कोणबाटै चिन्ता गरेको हामीले पाएका छौं । विश्व शक्तिमा उदाउँदै गरेका हाम्रा दुई छिमेकीहरुलाई प्रभावित गर्ने गरी यो मुद्दा आएको देखिन्छ । त्यसैले यस सम्झौतामा भएका हाम्रो स्वाधीनतालाई असर गर्ने विषयहरु संशोधन गरेर हाम्रो हितमा हुनेगरी अगाडि बढाउनु उपयुक्त हुन्छ भनेर हामीले भनिरहेका छौं । अहिले जसरी काँग्रेसले बलमिच्याँई गरिरहेको छ त्यसले जनतालाई पनि विभाजित भएको छ । यहाँका पार्टीहरुभित्र पनि यसले असर गरिरहेको छ भने हाम्रो विदेश सम्बन्धमा पनि कुनै न कुनै रुपमा असर गरिरहेको छ । यसमा सहि निर्णय लिन नसक्ने हो भने आगामी चुनाव र परिणाममा पनि यसले प्रभाव पार्ने अवस्था देखिन्छ ।

प्रदेश सरकारको कामलाई कसरी हेर्नुभएको छ ?

प्रदेश सरकार बनेपछि जसरी तीब्र ढंगले काम गर्दै अगाडि जान सक्नुपथ्र्यो, त्यो भएको छैन । तर, सरकार गठन भएको धेरै लामो समय नभएकोले अब सरकारले जनसरोकारका विषयहरुलाई सम्बोधन गर्दै, जनताका पक्षमा निर्णय लिएर अगाडि बढ्नुपर्छ । अहिलेसम्मको कामलाई हेर्दा सरकारको आलोचना गर्ने गरिका मुद्दाहरु चैं भेटिएको छैन ।

प्रदेश १ सरकारले प्रदेशको नामाकरणका लागि औपचारिक रुपमा छलफल आरम्भ गरेको छ र पार्टीहरुको पनि सहयोग खोजेको छ । तपाईंहरुको तयारी के छ ?

हाम्रो गत प्रदेश कमिटीको बैठकमा यस विषयमा छलफल भएको थियो । हामीले पहिचानको मुद्दालाई सशक्त रुपमा उठाउँदै आएका छौं । जनयुद्धदेखि शान्तिप्रक्रिया र संविधान निर्माण गर्दाका बखतमा पनि हामीले पहिचानको विषयलाई गम्भीरताका साथ उठाएका छौं । अहिलेको सन्दर्भमा पहिचानलाई आधार बनाउँदै गर्दा यसका विषयहरुलाई कसरी अगाडि सार्ने र कुन ठाउँमा पुगेर टुंग्याउने भन्ने विषयमा हामी पार्टीभित्र छलफल गर्छौं र एकमतका साथ अगाडि बढ्ने प्रयत्न गर्छौं । हामी पार्टीभित्र साझा धारणा बनाएर पहिचानलाई सम्बोधन गर्ने र सबैको सहमति हुनसक्ने विकल्पहरुसहित छलफलमा सहभागी हुन्छौं ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।