अल्ट्रा रनर मीरा राई रारा म्याराथनका लागि सद्भावना दूत

काठमाडौं । चर्चित अल्ट्रा रनर मीरा राई अर्को वर्ष वैशाखमा आयोजना हुने रारा म्याराथनका लागि सद्भावना दूत नियुक्त भएकी छन् । २०७९ वैशाख ११ गते आयोजना हुने रारा म्याराथनको आयोजक अन्तरालले मंगलबार पत्रकार सम्मेलन गरी मीरालाई सद्भावना दूतका रूपमा सार्वजनिक गरेको हो ।

मुगु जिल्लामा अवस्थित प्रसिद्ध रारा तालबाट सुरु भई जुम्लामा आएर सम्पन्न हुने रारा म्याराथनसँग सहकार्य गर्न पाउँदा मीराले खुसी व्यक्त गरेकी छन् । अल्ट्रा दौडको विश्वस्तरीय प्रतियोगितामा पदक जितिसकेकी मीराले रारालाई केन्द्रमा राखेर गरिने यस्ता प्रतियोगिताले देशभर लुकेका प्रतिभा पहिचानमा सहज हुने बताइन् ।

रारा म्याराथनका अध्यक्ष जयनारायण शाहले ४ हजार मिटरभन्दा बढी उचाइबाट सुरु हुने म्याराथनमा धावकको सुरक्षामा पूर्ण ध्यान दिइने बताए । राराबाट सुरु भई मुगुको चुचेमारा हिमालको काख हुँदै डाँफ लेकबाट जुम्ला बजारमा आएर म्याराथन सम्पन्न हुनेछ ।

प्रतियोगितामा महिला र पुरुषतर्फ समान पुरस्कार राशिको व्यवस्था गरिने बताइए पनि घोषणा गरिएको छैन । पर्यटकहरूसमेत १ सयभन्दा बढी सहभागीको अपेक्षा गरिएको म्याराथनले कर्णालीको पर्यटन विकास, जलवायु परिवर्तनबारे जनचेतना वृद्धि गर्ने उद्देश्य लिइएको छ ।

बुधबार, १४ पुष, २०७८, दिउँसोको ०३:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर