लघुकथा : पश्चातापको ऑसु

 विष्णु उप्रेती

दामोदर बाजेकी बुढीले बिहानै उठेर दैलो खोल्दा, दैलाको ठेलामा चामलको बोरा देखेर तिनछक्क परिन् । हस्याङ् फस्याङ गर्दै पूजा कोठामा पुगेर बुढालाई भनिन्, ‘अचम्मै भयो बुढा, हाम्रा ढोकामा मसिना चामलको बोरा छ ।’

बुढीको कुराले झण्डै होस उड्यो, बुढा लत्रिन्दै ढोकामा पुगे। चामलको बोरा देखेर दामोदर ‘बा’ले भगवान प्रति कृतज्ञताका ऑसु झारे। जुन घरमा अन्न नभएर दुई दिनदेखि चुलो बलेको थिएन्। बुढाबुढीका ऑखाबाट हर्षका ऑसु बगिरहे।

उनको ढोकाअगाडि आवश्यक सामान आइरह्यो, दैनिकी सहज बन्दै गयो तर यो सब कसरी भयो उनीहरु अचम्ममा परेका थिए ।आजसम्म कसैलाई सुईकोसम्म दिएका थिएनन्।

दामोदर बाजेका दुई छोरी थिए। जेठी छोरी दश कक्षामा पढ्दापढ्दै बाह्र वर्षअगाडि, दलित केटासॅग भागिन्। त्यो छोरीले हाम्रो नाक काटेर गई, हाम्रो लागि मरी, भन्दै सनक्कै बिर्सिए । आजसम्म अत्तोपत्तो थिएन। कान्छी छोरी तीन वर्षअगाडि मास्टर सकेर शैक्षिक भ्रमणमा जाँदा जीप दुर्घटनामा परेर मरिन्। बुढाबुढी नितान्त एक्लै भए । आफ्नो भन्ने संसारमा कोही थिएनन् ।

एकदिन बेलुका बुढीले गनगन गरिन, ‘होइन हौ, बुढा मान्छे, यसरी हामीलाई सधैं सबैथोक कसले दिई रहेको छ, स्वयं भगवानले नै होकी, भुतप्रेतले होकी, मान्छेले भनौ भने आफ्नो कोही छैन। यसो पत्ता लगाउँन, यसरी कतिदिन अन्यत्रबाट दिएको खाने ?’

बुढीको कुरा ठिकै लाग्यो। भोलीदेखि बुढाबुढी लुकेर ढुक्न थाले। बाह्रदिन पछि राति, एउटा धमिलो छाया केही सामान बोकेर सरासर घरमा आयो। सामान राखेर फर्किनै लाग्दा, दामोदर बाजेले दह्रो हिम्मत र ऑट गरेर च्याप्प पक्रिए।

माक्स खोलेर हेर्दा बुढाबुढीको होस उड्यो, बाजे एकोहोरो भएर हेरिरहे ।बुढी भुइँमा लडिन् । पक्राउ पर्ने अरु कोही नभएर उनीहरुकै जेठी छोरी थिइन। उनीहरूका ऑखाबाट पश्चातापका ऑसु बलिन्द्र झरे। बाक्य फुटेन।

Supported only between 1944-2022