सम्पादकीय
अधिकारकर्मीहरुले महिला हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालनको तयारी गरिरहेकै बेला प्रदेश १ को राजधानी विराटनगरसँगै जोडिएको कटहरीमा बलात्कारको जघन्य घटना भयो । घरको आँगनमा खेलिरहेकी नाबालिकालाई अपहरण गरेर बलात्कार गर्ने र हत्या गर्ने प्रयास समेत भयो । बलात्कारपछि बालिकाको हत्या गर्ने उद्देश्यले ढुंगा प्रहार गरि मरणासन्न पारियो । घटनामा गम्भीर घाइते बालिकाको स्वास्थ्य उपचार जारी छ ।
प्रदेश राजधानी त्यसमा पनि शिक्षाको हव मानिएको विराटनगरमा भएको यो अमानवीय र अपराधिक घटनाले दुनियाँलाई गिज्याएको छ । कयौं आन्दोलन र अभियान मार्फत उन्नत र सचेतनायुक्त बनाउने प्रयत्नका बाबजुद समाजमा अहिलेपनि यस प्रकारको कहालिलाग्दो र नृशंस घटना हुने गरेको छ । जुन सभ्य समाजमा कल्पनै गर्न सकिदैन ।
जतिजति शिक्षा र चेतनाबाट समाज प्रशिक्षित बन्दै जान्छ यस प्रकारका घटनामा कमी आउने अपेक्षा गरिन्छ । तर, यहाँ त्यस विपरितका घटनाहरु भइरहेका छन् । प्रहरी कार्यालयहरुमा दायर भएका उजुरी र मुद्दाहरुको तथ्यांकलाई केलाउने हो भने पनि यस प्रकारका अपराधिक घटनामा कमी आउनुको साटो दिनप्रतिदिन बढ्दै गएको पाइन्छ । यस्तो किन भइरहेको छ ? बलात्कार त्यसैपनि जघन्य अपराध हो । त्यसमाथि पनि नवजात शिशु र नाबालिकामाथि हुने यस प्रकारको जघटना अमानवीय, अपराधिक छ । यो र यस्ता घटना केवल यौन उन्मादमा भएको मान्न सकिदैन । यो त मानिसको अपराधिक मानसिकताको विद्रुप उपज हो । अपराधको पराकाष्ठा पनि हो ।
हाम्रो मुलुकमा कसैलाई पनि मृत्युदण्ड दिन नपाइने कानून छ । संविधानले नै मृत्युदण्डलाई बर्जित गरेको छ । जतिसुकै जघन्य अपराध गरेपनि, जस्तासुकै नृशंस घटना गराएपनि र त्यस्ता घटनाबाट जतिसुकै व्यक्तिको हत्या गरेपनि अपराध गर्नेको बाँच्ने अधिकारको सुनिश्चितता राज्यले गर्नुपर्ने तर, निरपराध, अवोधहरुले मृत्युवरण गर्नुपर्ने असमान कानूनी व्यवस्था छ । नागरिक समाज र महिला अधिकारकर्मीहरुले बेला बेलामा यस प्रकारका जघन्य अपराधमा संलग्नहरुलाई मृत्युदण्डको सजायँ दिनु पर्ने आवाज उठाएका छन् । तर, त्यसप्रति सरकार र सम्बन्धित सरोकारवालाहरु गम्भीर देखिएका छैनन् । समाजमा पटक पटक यस प्रकारका घटना भएका छन् । अपराधमा संलग्न भएकाहरुलाई काराबासको सजाय पनि भएका छन् । तर, त्यसबाट मानिसहरु सचेत भएको, डराएको पाइदैन । त्यस कारणपनि बलात्कार त्यसमा पनि नाबालक र शिशु बलात्कार गर्ने कार्यलाई अत्यन्त गम्भीरतापूर्वक लिदैं दुनियाँले अनुभूति गर्नेगरी कडा सजाय गर्नु जायज नै हुन्छ । अभियान्ताहरुले उठाउँदै आएको मृत्युदण्डको विषयमा पनि अब खुला छलफल गर्नुपर्छ र यस प्रकारको जघन्य अपराध न्यूनीकरण गर्न संसारका प्रजातान्त्रिक मानिएका अमेरिका, भारत लगायतका मुलुकहरुले अवलम्बन गरेको मृत्युदण्डलाई हामीले पनि अपनाएर जाने हिम्मत गर्नुपर्छ ।