विराटनगर । फूजिमा आयल कम्पनीले उत्पादन गरेको लुब्रिकेन्ट्स र ग्रिज प्रयोग गर्दा सवारी साधानमा केही समस्या भए त्यसको क्षतिपूर्ति दिने भएको छ । उक्त कम्पनीले उत्पादन गरेको लुब्रिकेन्ट्स र ग्रिज प्रयोग गर्दा सवारी साधनमा खराबी आएको प्रमाणित भएमा कम्पनीले क्षतिपूर्ति दिने भएको हो । त्यसको लागि कम्पनीले एक करोडको बिमा गरेको छ ।
उपभोक्ताले कम्पनीका उत्पादनहरू कन्ट्रोल लुब्रिकेन्ट्स, म्याजिक प्लस, रोयल लुब्रिकेन्ट् र ग्रिज प्रयोग गर्दा केही समस्या भए त्यसको क्षतिपूर्ति दिने कम्पनीले विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।
कम्पनीका प्रबन्ध निर्देशक सुबोध कोइरालाले प्रयोगको ल्याबटेस्ट गर्दा कैफियत भेटिए बिमा कम्पनीमार्फत क्षतिपूर्ति दिइने बताए । ‘फूजिमा आयल कम्पनीले उत्पादन गरेको तीन वटा ब्राण्डको लुब्रिकेन्ट्स प्रयोग गर्दा उपभोक्ताको सवारी साधनको इन्जिनमा क्षति भएको पुष्टि भए क्षतिपूर्ति दिइनेछ,’ उनले भने, ‘२७ वर्षको यो इतिहासमा अहिलेसम्म हाम्रो उत्पादन प्रयोग गर्दा उपभोक्ताको सवारी साधानमा कुनै पनि खराबी आएको छैन ।’
यदी समस्या भइ सवारी साधानमा खराबी भएको पुष्टि भए क्षतिपूर्ति दिने नेपालको पहिलो उत्पादन कम्पनी भएको उनले बताए । दशैंको अवसर पारेर हिमालय इन्सुरेन्स कम्पनीसँग बीमा गरिएको उनले बताए । ‘६ महिनाको अभ्यासपछि हामीले हाम्रो उत्पादन प्रयोग गर्दा उपभोक्ताको सवारी साधानमा समस्या आएको पुष्टि भएमा क्षतिपूर्ति दिने भनेर ग्यारेन्टी बिमा गरिएको हो,’ उनले भने, ‘त्यसको लागि हामीले प्राविधिकसहितको ल्याब र संयन्त्रको पनि विकास गरेका छौं ।’
मोरङको बुढीगंगा गाउँपालिका–४ मा २०५२ सालमा उद्योग स्थापना गरि गुणस्तरीय लुब्रिकेन्ट्स उत्पादन गरि बजार पठाउँदै आएको निर्देशक कोइरालाको भनाइ छ । उनका अनुसार उद्योगले वार्षिक ३ हजार ५ सय केएल लुब्रिकेन्ट्स उत्पादन गर्दै आएको छ । नेपाली बजारमा ठूला ८ वटा लुब्रिकेन्ट् उत्पादन गर्ने स्वदेशी उद्योग रहेका छन् । स्वदेशी उद्योगले उत्पादन गरेको लुब्रिकेन्ट्स नेपाली बजारमा ३५ प्रतिशत मात्र ओगटेको छ भने बाँकी ६५ प्रतिशत विदेशी कम्पनीको दबदबा रहेको छ ।

