स्वास्थ्य मापदण्ड पालनामा लापर्वाही बढ्दै

विराटनगर । सोमबार विराटनगरको गुद्री बजारमा उपभोग्य वस्तु किन्न पुगेका अधिकांश उपभोक्ताहरु मास्कविहीन थिए । गुद्री बजारका पसलेहरुले पनि नाकमुख खुला राखेका थिए । सरकारले कोरोना महामारी कम भएपनि संक्रमणको जोखिम कायमै रहेको भन्दै स्वास्थ्य मापदण्ड अवलम्बन गर्न आग्रह गरेपनि सर्वसाधारणले भने वेवास्ता गर्दै आएका छन् ।

अहिले पनि प्रदेश १ मा दैनिक ३ सय जना भन्दा बढीमा कोरोना संक्रमण भइरहेको तथ्यांक सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको दैनिक विवरणबाट पुष्टि हुन्छ । संक्रमणबाट दैनिक मानिसले ज्यान गुमाइरहेका छन् । तर, सर्वसाधारणहरु भने बिस्तारै सामाजिक दूरी र स्वास्थ्य मापदण्ड पालनमा उदासीन बन्दै गएका छन् । मानै कि कोरोना अब सक्किसक्यो र मास्क लगाउनु वा सामाजिक दूरी कामय राख्नु कुनै जरुरी छैन ।

कोशी अस्पताल विराटनगरका चिकित्सक डा. रोशन खड्का कोरोना संक्रमणबाट सकेसम्म जोगिनु पर्ने भन्दै स्वास्थ्य मापदण्ड र सामाजिक दूरी जस्ता विषयमा ध्यान दिनु पर्ने बताउँछन् । सर्वसाधारणले हेलचेक्याईँ गर्दा रोगको संक्रमण बढ्ने र मानिसको मृत्युसमेत हुने भएकोले सचेत रहन जरुरी हुने उनले बताएका छन् ।

सरकारले जनजीवनलाई सहज बनाउन लकडाउन खोले पनि कोरोना नसकिएकोले लापरवाही गर्न नहुने स्वास्थ्य क्षेत्रका विज्ञहरुले बताउँदै आएका छन् । कोरोना विरुद्धको खोप लगाएपनि संक्रमण हुने जोखिम यथावत रहने भएकोले ध्यान दिनु पर्ने उनीहरुको सुझाव सर्वसाधारणले बेवास्ता गरेको देखिएको छ ।

मङ्गलबार, १९ असोज, २०७८, बिहानको १०:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर