विराटनगरबाट जिम्बावेका अलराउण्डर सिकन्दर राजाले खेल्ने

विराटनगर । विराटनगर वारियर्सले बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) का लागि पहिलो विदेशी खेलाडीको रूपमा जिम्बावेका सिकन्दर राजालाई लिएको छ ।

पछिल्लो ८ वर्षदेखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै आएका राजा जिम्बावे क्रिकेटका लोकप्रिय खेलाडी हुन् ।

उनले जिम्बावेबाट १७ टेस्ट, १ सय ५ एकदिवसीय अन्तर्राष्ट्रिय र ४२ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । ब्याटिङ अलराउन्डर उनले एकदिवसीयमा तीन र टेस्टमा एक शतक बनाएका छन् । राजाले टेस्टमा १ हजार १ सय ८७ र एकदिवसीय अन्तर्राष्ट्रियमा झन्डै ३ हजार रन बनाएका छन् ।

राजाले पाकिस्तान सुपर लिग, क्यारेबियन प्रिमियर लिगलगायतको फ्रेन्चाइज प्रतियोगिता खेल्दै आएका छन् । दायाँहाते अफ ब्रेक बलिङले उनलाई उपयोगी अलराउन्डर बनाएको छ । उनले सन् २०१८ मा जिम्बावेमै भएको विश्वकप छनोटमा नेपालविरुद्ध ६६ बलमा १ सय २३ रन बनाएका थिए । सोक्रममा उनले ५९ बलमै शतक पूरा गरेका थिए ।

सन् २०१७ मा पारस खड्काको कप्तानीमा ईपीएल जितेको वारियर्सले यस सिजनका लागि सौरभ खनाल, अनिल खरेल, सुमित महर्जनलाई लिएको छ । तर अघिल्लो महिना अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका कप्तान पारसले ईपीएल खेल्ने नखेल्ने निश्चित भएको छैन । सन् २०१८ मा भएको पछिल्लो संस्करणमा विराटनगर प्लेअफमा पुग्न असफल भएको थियो ।

मङ्गलबार, १५ भदौ, २०७८, साँझको ०७:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर