पेरिस (एजेन्सी) । अर्जेन्टिनी सुपरस्टार लिओनेल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पिएसजीबाट आज डेब्यु गर्ने भएका छन् । पिएसजीले लिगको चौथो खेलमा आज राइम्ससँग खेल्दैछ । खेल नेपाली समयअनुसार मध्यरात १२ः३० बजे हुनेछ ।
प्रशिक्षक माउरिसियो पोचेटिनोले मेस्सी पहिलो पटक पिएसजीको टोलीमा हुने पक्का गरेका छन् । तर, उनी सुरुवातबाट खेल्छन् वा बेन्चमा रहन्छन् भन्ने यकिन भएको छैन । टोलीका अर्का फरवार्ड माउरो इकार्डी घाइते भएका कारण मेस्सीले सुरुवाती रोजाइमा खेल्ने सम्भावना पनि छ ।
अगस्ट १० मा अनुबन्धित भएका मेस्सीले हालसम्म कुनै खेलमा टोलीमा स्थान बनाएका छैनन् । म्याच फिटनेस नभएका कारण नै उनलाई तयार हुन समय दिइएको प्रशिक्षक पोचेटिनोले बताउँदै आएका छन् । मेस्सीले कोपा अमेरिका उपाधि जितेपछि झन्डै एक महिना विश्राम लिएका थिए । पिएसजीमा अनुबन्धित भएपछि भने उनी पछिल्लो दुई सातायता नियमित प्रशिक्षणमा छन् ।
झन्डै डेढ महिनायता प्रतिस्पर्धात्मक खेल नखेलेका कारण पनि मेस्सीले आज पूरा समय नखेल्ने सम्भावना छ । उनी दोस्रो हाफमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गर्दै डेब्यु गर्न सक्छन् । मेस्सीसँगै नेयमार र किलियन एमबाप्पे पनि टोलीमा समेटिएका छन् । पिएसजीमा पहिलो पटक तीनै स्टार एकसाथ मैदानमा देखिने सम्भावना पनि रहेको छ ।
नेयमार र एमबाप्पे दुवै उपस्थित रहेको अवस्थामा मेस्सीले दायाँ विंगमा खेल्ने सम्भावना छ । एमबाप्पेले बीचबाट आक्रमण सम्हाल्दै आएका छन् । ट्रान्सफर बजारमा उनको रियल म्याड्रिड जाने चर्चा भएपनि प्रशिक्षक पोचेटिनोले एमबाप्पेले आफुलाई क्लब छाड्नेबारे केहि नभनेको जनाएका छन् । उनले एमबाप्पे आफ्नो योजनामा रहेको र त्यसैअनुसार टोली तयार गरेको अभिव्यक्ति दिएका छन् ।
पिएसजीले नेयमार र मेस्सीबिना पनि लिगको सुरुवाती तीन खेलमा शत प्रतिशत जितको सुरुवात गरेको छ । एम्बापपेले तीनै खेलमा प्रभावशाली प्रदर्शन गरेका छन् । राइम्म्सविरुद्ध गत सिजन पिएसजीले दुवै खेलमा सहज जित हासिल गरेको थियो । राइम्सले यस सिजन खेलेका तीनै खेलमा बराबरी खेल्दै ३ अंक जोडेको छ । पिएसजी भने ९ अंकसहित शीर्ष स्थानमा छ ।