विराटनगर । पछिल्लो समय नेपाली फुटबल अखिल नेपाल फुटबल संघ एन्फाको आन्तरिक विवादका कारण तातिएको छ ।
मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीको राजीनामा प्रकरण अनि प्रशिक्षक र एन्फा उपाध्यक्ष पंकज नेम्वाङको विवादले अहिले फुटबल माहोल तातिएको छ ।
यसै सन्दर्भमा एन्फाका सहायक महासचिव वसन्तराज अर्यालले पदबाट अलग हुने निर्णय गरेका छन् । अर्यालले आइतबार एन्फा अध्यक्षलाई सम्बोधन गर्दै पदबाट अलग रहने भन्दै निवेदन लेखेका छन् ।
अर्यालले २०७७ माघ २६ गते काठमाडौंमा सम्पन्न साधारण सभाले आफ्नो विधान संशोधन गरी मनोनित पदहरु खारेज गरेकोले उक्त पदमा रहिरहन विधानत नैतिक संकट परेको हुँदा र अध्यक्षलाई विधान अनुसार काम गर्न सजिलो होस् भनेर पदकबाट अलग रहने घोषणा गरेको उनले जनाएका छन् ।
मुख्य प्रशिक्षक र एन्फा वरिष्ठ उपाध्यक्षबीच हाल संस्थामा देखिएको सामान्य भन्दा सामान्य असमझदारीलाई संस्थाभित्रै छलफल गरी समाधान गर्ने मार्ग प्रस्त भए पनि मन्त्रालयमा यो विषयलाई छानविन गर्न पठाउनु दुःखद भएको उनले पत्रमा उल्लेख गरेका छन् ।
यही विषयमा अर्यालको असन्तुष्टि रहेकोले उनले राजीनामा दिएको संकेत गरेका छन् ।
यसअघि एन्फा कार्यसमितिको आकस्मिक बैठकमा मनोनित पदाधिकारीलाई नबोलाएको भन्दै उपाध्यक्ष शिक्षित पराजुलीले अबदेखि एन्फाको आगामी बैठकमा उपस्थित नहुने जानकारी गराइसकेका छन् । एन्फा प्रवक्ता किरण राईले पनि पदबाट राजीनामा दिएका छन् ।
प्रशिक्षक अलमुताइरीले फेसबुकबाट माफी मागे पनि विवाद अन्त्य भइसकेको छैन ।