भष्मासुरको अन्त्य भयो : बाबुराम भट्टराई

काठमाडौं । संघीय समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले भष्मासुर प्रवृत्तीको अन्त्य भएको बताएका छन् ।

प्रतिनिधिसभा संसदमा शेरबहादुर देउवाले राखेको विश्वासको मत दिने प्रस्तावको पक्षमा बोल्दै भट्टराईले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता वहिर्गमन हुनु भष्मासुरको अन्त्य हुनु भएको टिप्पणी गरेका हुन् । उनले पुस ५ पछिका सबै परिघटनाहरू ठूलो अपराध भएको बताए ।

भट्टराईले अदालतको फैसलालाई स्वागत गर्दै संविधान बनाउनेले बिर्सेको र बुझ पचाएको कुरा अदालतले सुन्दर ढङ्गले सम्झाइदिएको पनि बताए । देश दुर्घटनाको नजिकै पुगेको बेला अदालतले बचाइदिएको भन्दै संसद् बचाउने सन्दर्भमा अदालतको भूमिका अहम् भएको बताए ।

बेलाबेलामा संविधानमाथि असहमति राख्दै आएका भट्टराईले संविधानलाई आधा गिलास पानीको संज्ञा दिँदै त्यही पनि घोप्ट्याउने काम ओलीले गरेपछि आफूहरु विरोधमा उत्रिएको बताए । भट्टराईले प्रतिगमनकारीको खड्ग प्रहारबाट प्रतिनिधिसभा मुर्छित हुनुपरेको पनि बताए । उनले प्रतिनिधिसभा विघटन बदर भएपछि पुनः सदनमा उपस्थित हुन पाउनु खुसीको कुरा भएको बताए ।

भट्टराईले सर्वोच्च अदालतको फैसला आफूले पटक पटक पढेको भन्दै सो फैसलामा सुन्दर ढंगले ब्याख्या गरिएको बताए । भट्टराईले माओवादी जनयुद्धलाई अपराधिकरण गर्न खोजेको भन्दै सत्यनिरुपण तथा मेलमिलाप आयोगलाई सक्रिय बनाउन आग्रह गरे । ‘कतिपय सन्दर्भमा पूर्व प्रधानमन्त्रीहरुले समेत तेरो टाउकोमा मुद्दा छ भन्दै धम्क्याउने गरेका छन्,’ उनले भने, ‘यो धम्क्याउने विषय होइन, सक्नेभए मुद्दा चलाएर देखाए भयो, होइन भने यस विषयको टुंगो लगाउन सत्यनिरुपण तथा मेलमिलाप आयोगलाई सक्रिय बनाउँ ।’

भट्टराईले शान्तिपूर्ण राजनीतिमा आएका भनिएका नेकपा विप्लवसँग गरिएको सहमति कार्यान्वयनमा जोड दिए । ‘विप्लव जी शान्ति प्रक्रियामा आउनु भएको छ, उहाँका कार्यकर्ताहरुलाई जेलमा राखिएको छ भने छोडौं, शान्तिपूर्ण राजनीतिमा आउन खोज्नेलाई बाटो अवरुद्ध नगरौं,’ भट्टराईले भने, ‘शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि यस विषयलाई गम्भीर ढंगले सोच्नु पर्दछ ।’

भट्टराईले निवर्तमान प्रधानमन्त्री ओलीले चुच्चे नक्सा बनाएको भन्दै हल्ला चलाएको दाबी गर्दै भूमि फिर्ता ल्याउने पहल भने नगरेको दाबी गरे । ‘चुच्चे नक्सा बनाएको होला, तर भूमि फिर्ता ल्याउन १ वर्षसम्म काहाँ कति पहल भयो ? के के गर्नुभयो ?,’ प्रश्न गर्दै भट्टराईले भने, ‘बरु पुस्तकमा नक्सा नछाप्ने निर्देशन भएको सुनेका छौं ।’

आइतबार, ०३ साउन, २०७८, रातीको ०८:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर