विराटनगर । कोलम्बियालाई पराजित गर्दै कोपा अमेरिका २०२१ को फाइनलमा पुगेको अर्जेन्टिनाले अब उपाधिका लागि ब्राजिलङसँग प्रतिस्पर्धा गर्नु पर्नेछ ।
विश्वकै नम्बर १ खेलाडी लियोनल मेसीको साथमा अर्जेन्टिना मैदानमा रहने छ भने अर्का नवउदयीमान खेलाडी नेयमारको साथमा ब्राजिल मैदानमा उत्रने छ ।
अर्जेन्टिना सन् २०१६ पछि पहिलो पटक कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको हो । आइतबार बिहान अर्जेन्टिनाले आफ्नो १५ औँ कोपा अमेरिकाको उपाधिको लागि चिर प्रतिद्वन्द्वी ब्राजिलको सामना गर्नेछ । यि दुवै टिमको फाइनल भिडन्त धेरैका लागि चासो र चाहनाको विषय हो । दुई टोली सन् २००७ पछि पहिलो पटक फाइनलमा भिड्न लागेका हुन् ।
दुई वर्षअघि ब्राजिलमै भएको प्रतियोगितामा अर्जेन्टिना सेमिफाइनलमा ब्राजिलसँगै पराजित भएको थियो । यस पटक ब्राजिलविरुद्ध बदला लिंदै उपाधि जित्ने अर्जेन्टिनालाई अवसर छ ।
यता सन् २०१९ मा ब्राजिलमै भएको पछिल्लो संस्करणमा ब्राजिलले पेरुलाई हराउँदै उपाधि जितेको थियो । ९ पटक उपाधि जितेको ब्राजिलले यसअघि घरेलु मैदानमा आयोजना भएको ५ वटै कोपा अमेरिकाको उपाधि जितिसकेको छ ।
मेसीप्रतिको अपेक्षा
उता स्पेनिस क्लब बार्सिलोनाबाट सबै सफलता चुमिसकेका मेसीका लागि अब राष्ट्रिय टिमबाट सफलता चुम्ने चुनौती छ। खासमा म्याराडोनालाई अर्जेन्टिनामा भगवानसरह सम्मान गरिन्छ भने मेसीलाई अपमान र अपजसको भारी बोकाइन्छ कारण सिनियर टिमबाट कुनै उपाधि जित्न नसक्नु नै हो । अर्जेन्टिनाको रोजारियो शहरमा जन्मिएका मेसी ३४ वर्षका भए।
र्दुइपटक कोपा अमेरिका र एउटा विश्वकपनजिक पुगेर पनि उपाधि जित्न नसकेका मेसिका लागि सम्हालिन निकै संघर्ष गर्नुपरेको थियो ।
यसअघि नै मेसीले आफ्नो देशका लागि युथ २० विश्वकप, ओलम्पिक फुटबलमा गोल्ड मेडल जितेका थिए । यस्तै उनले चार पटक च्याम्पियन्स लिग विजेता, ६ पटक बालोन डियोर, तीन पटक युएफा उत्कृष्ट खेलाडी, दश पटक लालिगा च्याम्पियन, सात पटक स्पेनिस कप विजेता, आठ स्पेनिस सुपर कप, तीन फिफा क्लब विश्वकप, एकै वर्षमा ९१ गोल लगायत दर्जनौं रकर्डहरू मेसीका नाममा छन्।
तर पनि देशको जर्सीमा तीन ठूला प्रतियोगिताको फाइनलमा पुगे पनि मेसी ३ वटैमा असफल भएका छन्। सन् २०१४ को विश्वकपको फाइनलमा पुगेका मेसी पहिलो फाइनलमा असफल भए । त्यसपछि २०१५ र १६ मा लगातार कोपाको फाइनल पुगे पनि मेसी ती दुवैमा उपाधि जित्न असफल भए। २०१६ को फाइनलमा अर्जेन्टिनाले उपाधि जित्न नसक्नुको मुख्य काण मेसी आफैं थिए । तर, यसपटक अब तीन फाइनलमा भोगेको पीडा र असफलताको मूल्य मिलान गर्ने समय फेरि उनको हातमा आएको छ।
तर, फेरि पनि अर्जेन्टिना र मेसीको बाटो उति सजिलो भने छैन । मेसी र अर्जेन्टिनाका लागि ब्राजिल ठूलो लगारो हो। किनभने, यसपालि पनि कोपाको उपाधिमा ब्राजिललाई मुख्य दाबेदार मानिएको छ। आफ्नै भूमिमा खेलिरहेको ब्राजिलको मनोबल उच्च देखिन्छ ।
यता गत ब्राजिलका फरवार्ड नेइमारले कोपा अमेरिका २०२१ फाइनलमा ब्राजिल र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुने आशा यसअघि नै व्यक्त गरिसकेका छन् । उनले भनेअनुसार नै अब अर्जेन्टिनासँगै ब्राजिलले प्रतिस्पर्धा गर्नुपर्ने छ ।
कोपा अमेरिकाको पहिलो सेमिफाइनल खेलमा सोमबार विहान पेरूलाई १–० गोलले पराजित गर्दै आयोजक ब्राजिलले फाइनलमा स्थान पक्का गरेपछि नेइमारले यस्तो बताएका थिए ।
‘फाइनलमा अर्जेन्टिनासँग प्रतिस्पर्धा होस् भन्ने चाहान्छु। त्यसका लागि मैले अर्जेन्टिनालाई समर्थन गरिरहेको छु,’ नेइमारले पेरूलाई पराजित गरेपछि हाँस्दै भनेका थिए, ‘अर्जेन्टिनी टिममा मेरा साथी छन् र फाइनलमा ब्राजिलले जित्नेछ।’
स्पेनिस क्लब बार्सिलोनाका पूर्वसहकर्मी मेसी र नेइमारले जारी प्रतियोगितामा उत्कृष्ट खेल देखाइरहेका छन्। नेइमारले जारी प्रतियोगितामा दुई गोल र तीन एसिस्ट गरेका छन् भने मेसीले चार गोल र चार एसिस्ट गरिसकेका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।