सुनसरी । सुनसरीको रामधुनी नगरपालिका ६ की वडा सदस्य लक्ष्मी चौधरीले आफूमाथि निराधार आरोप लगाएर मिडियाबासी भएको भन्दै प्रतिवाद गरेकी छिन् ।
मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै चौधरीले केही दिनयता आफ्नो नाम जोडेर आएको समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएकी हुन् ।
‘केही सिमित व्यक्ति र मिडियाले सही कुरा नबुझी, तथ्यको गहिराई नै नबुझीकन एकतर्फी रुपमा आफूलाई बदामान गर्न, व्यक्तिगत चरित्र हत्या र राजनीतिक प्रतिसोध साध्नका लागि राहत वितरण प्रकरणमा अनियमितता र भ्रष्टचार विषयमा नाम जोडेर आएको सूचना, भिडियो, प्रकाशित तथा प्रसारित समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको छ,’ उनले जारी विज्ञप्तिमा भनेकी छिन् ।
हालै केही अनलाईन र एफएममा वडा सदस्य लक्ष्मी चौधरीले हिनामिना गरेको भन्दै समाचार प्रसारण गरेको थियो । त्यो समाचार पूर्ण झुठो, निराधार र कलोकल्पित तथा भ्रमात्मक रहेको विज्ञप्तिमा उल्लेख छ ।
चौधरीले आफूले नगरपालिकाको नियम, ऐन, कानुन र नगर सभाबाट पास भएको कार्यक्रमहरु, योजना र बजेटलाई आर्थिक नियमालिसमेतलाई ध्यानमा राखी पारदर्शी रुपमा नै काम गरेको सबैमा जानकारीका लागि अनुरोध पनि गरेकी छिन् । अनियमितताको छानविन भए आफू कुनैपनि सहयोग गर्न तयार रहेको उनको विज्ञप्तिमा उल्लेख छ ।