विराटनगर । नेकपा एमालेको खनाल नेपाल पक्षधर युवा संघ नेपाल विराटनगर महानगर कमिटीले बुधबार रक्तदान कार्यक्रम आयोजना गरी ५३ पिन्ट रगत संकलन गरेको छ ।
रक्तसंचार केन्द्रमा समेत रगतको चरम अभाव भईरहेको बिषयलाई दृष्टिगत गर्दै युवा संघले रेडक्रसको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरी रगत संकलन गरेको हो । संकलित रगत युवा संघले नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार केन्द्र विराटनगरलाई उपलब्ध गराएको छ । कोेरोना महामारीका कारण बिरामीलाई रगत पाउन कठिन भईरहेको हुँदा सहजीकरण गर्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको युवा संंघ नेपालका विराटनगर महानगर कमिटी सह–सचिव निरज मल्लले बताए ।
नेपाल रेडक्रस सोसाइटीद्धारा सञ्चालित रक्तसंचार केन्द्र विराटनगरका प्राविधिक इन्र्चाज शिवनन्दन यादवले केही दिनयता रक्तसञ्चार केन्द्र समेत रगतको चरम अभावको सामना गरिरहेको बताए । उनले विभिन्न सामाजिक संघ संस्थाहरुलाई पनि रक्तदान कार्यक्रम आयोजना गरि रगत संकलनमा सहयोग पुर्याउन अपिल गरे ।
कोरोनाको महामारीका कारण पूवनिर्धारित रक्तदान कार्यक्रमहरु पनि स्थगित हुँदा रगतको अभाव चुलिएको छ, उनले भने, ‘बिशेषगरि दुर्घटनामा परेका, रक्तश्राव भएका, प्रसुति, मुटु, क्यान्सर तथा मिर्गौला बिरामी, थालसेमिया, हेमोफिलिया र आकस्मिक अपरेशन गर्नुपर्ने बिरामीहरूलाई पर्याप्त रगत आपूर्ति गर्न सकिएको छैन ।’
केही महिना अघिसम्म पर्याप्त रक्तसंकलन गरेपनि विगतको ३ साता यता कुनै क्याम्प आयोजना नभएकोले त्यहाँ पनि अहिले रगतको पर्याप्त मौज्दात नरहेको रक्तसञ्चार केन्द्रले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।