प्रशासन कार्यालयमै स्वास्थ्य मापदण्डको धज्जी

विराटनगर । कोरोना संक्रमण रोकथाम र नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय मोरङले उदाशीनता देखाएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले आफ्नै कार्यालयमा पनि सामान्य स्वास्थ्य मापदण्ड पालना र भौतिक दुरी कायम गराएको छैन ।

बिहीबार जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकता लिन पुगेका सेवाग्राहीहरुको बाक्लो घुँइचो थियो । उनीहरुमध्ये कतिपयले मास्कसमेत लगाएका थिएनन् ।

लाइनमा बसेका सेवाग्राहीले भौतिक दुरी सम्बन्धी मापदण्ड पूर्णरुपमा उल्लंघन गरेका थिए भने पालना गराउन कर्मचारीले कुनै भूमिका निर्वाह गरेका छैनन् । जिल्ला प्रशासन कार्यालयमै सरकारले तोकेको स्वास्थ्य मापदण्ड वेपर्वाह ढंगले उल्लंघन भइरहेको बेलामा अन्य कार्यालयहरुमा पालना हुनसक्ने अवस्था छैन ।

प्रशासन कार्यालयमा आउने सर्वसाधारणलाई मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, भिडभाड नगर्ने जस्ता सामान्य मापदण्ड पालना नगराई जिल्ला प्रशासन कार्यालयले निष्कृयता देखाएको छ । कार्यालयमा पुगेका सेवाग्राहीको लागि न हात धुने प्रबन्ध छ न सेनिटाइजर नै । त्यतिमात्र होइन आफ्नै कार्यालयमा स्वास्थ्य सम्बन्धी मापदण्ड पालना नगराएको प्रशासन कार्यालयले अन्य कार्यालयहरुलाई पनि त्यस विषयमा जिम्मेवार बनाउन प्रभावकारी निर्देशन गरेको छैन ।

विराटनगर ४ बरगाछीमा रहेको परीक्षा बोर्डको कार्यालय परिसरमा बिहीबार दिनभरी सयौं बिद्यार्थीहरुको घुँइचो लाागेको थियो । कक्षा ११ र १२ को सर्टिफिकेटका लागि केही दिनयता परीक्षा बोर्डको कार्यालयमा यस्तै घुँइचो लागिरहेको छ । त्यहाँ पनि भौतिक दुरीलगायत स्वास्थ्य सम्बन्धी मापदण्डको सामान्य पालनासमेत भएको छैन ।

‘दिनहुँ सयौं विद्यार्थीहरुसँग आमनेसामने भएर काम गर्नु परिरहेको छ, कार्यालयमा सेवाग्राहीको घुँइचो लागेको बेलामा स्वास्थ्य सम्बन्धी मापदण्ड पालना नहुँदा कर्मचारी र सेवाग्राही दुवै उच्च जोखिममा परेका छौं,’ परीक्षा वोर्ड विराटनगरका एकजना कर्मचारीले भने ‘बोर्डको केन्द्रीय कार्यालयले सेवा कटौति गरेको छ, कर्मचारीहरुलाई आलोपालो प्रणालीमा काम गराइरहेको छ । तर, यहाँ न आफ्नो कार्यालय गम्भीर छ न त जिल्ला प्रशासन कार्यालय नै गम्भीर देखिएको छ ।’

बिहीबार कोसी अस्पताल विराटनगरमा बिरामीहरुको बाक्लो भीड लागेको थियो । बिमामार्फत उपचार सेवा लिनेहरुको भीडलाई व्यववस्थित गर्ने र स्वास्थ्य सम्बन्धी सामान्य मापदण्डसमेत पालना नगराएपछि वाइसिएल मोरङको एउटा टोलीले अस्पताल प्रशासनलाई दवाब दिएको थियो । अस्पताल प्रशासनले त्यसलाई वेवास्ता गरेपछि भीड व्यवस्थापन गरी जनताको स्वास्थ्य संवेदनशीलता ख्याल गर्न दवाव दिँदै वाइसिएलले सामान्य तोडफोडसमेत गरेको थियो ।

सरकारले कोरोना संक्रमण रोकथाम र नियन्त्रण गर्न जरुरी कामबिना घरबाट बाहिर नजान र जानै परे स्वास्थ्य सम्बन्धी मापदण्ड ख्याल गर्न सार्वजनिक सूचना जारी गरिरहेको छ । तराईका जिल्लाहरुमा ५०० जना र पहाड तथा हिमाली जिल्लामा २०० जनाभन्दा धेरै संक्रमित भए निषेधाज्ञा जारी गरी चेनब्रेक गर्नुपर्ने निर्देशन संघीय सरकारले दिएको भएपनि मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले कोरोना रोकथाम र नियन्त्रणका लागि कुनै पहल गरेका छैनन् ।

प्रमुख जिल्ला अधिकारी निरौलाले केही दिनयता मिडियाहरुलाई मोरङमा संक्रमितको दर बढेपनि आत्तिनु पर्ने अवस्था आइनसकेको प्रतिक्रिया दिँदै आएका छन् । उनले भनेका छन् ‘अस्पताल भर्ना गरेर उपचार गर्ने संक्रमितको संख्या थोरै छ, संक्रमितहरु घरमै बसेर उपचार सेवा लिइरहेका छन् त्यसैले आत्तिनु पर्ने अवस्था छैन ।’

पछिल्लो तथ्यांक अनुसार प्रदेश १ मा कोरोना संक्रमण दर दिनहुँ करिब २५ प्रतिशतका दरले बढ्दै गएको छ । वैशाख १ गते ९ प्रतिशतको दरमा रहेको संक्रमण १६ गते २५ प्रतिशत पुगेको छ । संक्रमितमध्ये आधा मोरङका छन् भने त्यसमध्ये ९० प्रतिशत विराटनगरका छन् ।

संक्रमण तिब्रगतिमा फैलिएको देखिएपनि प्रमुख जिल्ला अधिकारी निरौलामा गम्भीरता देखिएको छैन । जसले जिल्लामा संक्रमणको भयावह अवस्था आउने अनुमान गर्न थालिएको छ ।

शुक्रबार, १७ बैशाख, २०७८, बिहानको १०:५४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर