होलीमा भिडभाड गर्नेलाई कार्वाही गर्ने प्रशासनको चेतावनी

सरकारी निर्णय लत्याएर होलीमा रमाउँदै मुख्यमन्त्री राई

विराटनगर । कोरोनाको जोखिम बढेको भन्दै सरकारले भीडभाड नगर्न र होली पर्व परिवारभित्रै सीमित रहेर मनाउन दिएको निर्देशन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नै उल्लंघन गर्नुभएको छ ।

गृह मन्त्रालयले र जिल्ला प्रशासन कार्यालयले कोरोनाको जोखिम बढेकोले भिडभाडमा होली नमनाउन आग्रह गर्दै त्यसलाई उल्लंघन गर्नेलाई कार्वाहीको चेतावनी दिएको छ । तर, बुधबार मुख्यमन्त्री शेरधन राई भने कुनै सुरक्षा सतर्कता नअपनाई आयोजना गरिएको होली कार्यक्रममा सहभागी हुनुभयो ।

मंगलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले गरेको निर्णय अनुसार प्रहरीले बुधबार दिनभर विराटनगर बजारमा कोरोना जोखिम बढेकोले सतर्कता अपनाउन माइकिङ गरिरहेको थियो । सुरक्षा समितिले घरभित्रै बसेर होली मनाउन निर्देशन दिएको भन्दै त्यसको उल्लंघन गर्नेलाई कार्वाही गर्ने चेतावनी माइकबाट प्रहरीले दिइरहेको बेला मुख्यमन्त्री राई भने उद्योग संगठन मोरङले आयोजना गरेको होली कार्यक्रममा रमिरहनुभएको थियो ।

कोरोना संक्रमितको संख्या बढ्न थालेपछि दोस्रो लहर आएको आशंकामा गृह मन्त्रालयले ७७ वटै जिल्लामा उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि सार्वजनिक सूचना जारी गर्दै होली पर्व परिवारमै सीमित गर्न र परिवारभित्र पनि सुरक्षा मापदण्ड पालना गर्न भनेको छ ।

बुधबार मात्रै प्रदेश १ मा १३ जना नयाँ कोरोना संक्रमित फेला पर्दा १० जना विराटनगरका मात्रै छन् । उच्च जोखिम क्षेत्र मानिने विराटनगरमा सरकारी निर्देशनको अवज्ञा गर्दै भीडमा गएर होली मनाउने मुख्यमन्त्रीको शैलीको चिकित्सक र सरकारी अधिकारीहरुले नै आलोचना गरेका छन् । ‘मुख्यमन्त्री आफै होली खेल्दै हिँडेपछि जनतालाई कुन मुखले होली नखेल भन्ने ?’, सामाजिक विकास मन्त्रालयका एक उच्च अधिकारीले आक्रोश पोखे ‘आफैले सू्चना गरेर सर्वसाधारणलाई भीड नगर्नु भन्नुपर्ने बेलामा मुख्यमन्त्रीले यसो गर्नु गलत छ ।’

कोरोना सम्बन्धि स्वास्थ्य मापदण्ड पालना नगरेको भन्दै विगतमा पनि सार्वजनिक आलोचनाको शिकार बन्दै आएका मुख्यमन्त्रीले वेपर्वाह रुपमा होली खेल्दा प्रदेश १ का प्रमुख सोमनाथ अधिकारीले भने चैत १५ गतेको लागि आयोजना गरेको होली मिलन कार्यक्रम स्थगित गर्नुभएको छ । बढ्दो कोरोनाको जोखिमको कारण कार्यक्रम स्थगित गरेको प्रदेश प्रमुखका स्वकीय सचिब प्रतिक ढकालले जानकारी दिनुभयो ।

‘गृह मन्त्रालयले भीड नगर्न सूचना गरेको छ, जिल्ला प्रशासनले अघिल्लै दिन त्यस्तै सूचना गरिसकेको छ’, विराटनगरस्थित कोशी अस्पतालका एक चिकित्सकले भने ‘तर, मुख्यमन्त्री चाहिँ आरामले होली खेल्न जानु आपत्तिजनक छ । प्रदेश सरकारको प्रमुख नै यति गैरजिम्मेवार हुने हो भने जिम्मेवार को हुन्छ ?’ त्यसो त सरकारी निर्णय एकातिर र मुख्यमन्त्रीको कार्यशैली अर्कातिर हुँदा अशोभनीय अवस्था देखिएको थियो ।

बुधबार अपरान्ह प्रदेश १ का सबै जिल्ला प्रशासन कार्यालयहरुले धमाधम सूचना निकाल्दै थिए । कोरोनाको जोखिम उच्च भएको भन्दै भीडभाड नगर्न, होली घरमै मात्र मनाउन भनेर सूचना जारी हुँदै गर्दा विराटनगरमा प्रहरीले माइकिङ पनि गर्दै थियो ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले कोरोनाको जोखिम पुनः बढेकोले भिडभाडमा कडाई गर्ने र सार्वजनिक रुपमा धेरै मानिस जम्मा भएर खेलिने होलीमा रोक लगाउने निर्णय भएको जानकारी दिनुभयो । गृह मन्त्रालयको निर्देशन अनुसार मंगलबारको सुरक्षा समितिको बैठकले गरेको निर्णय कार्यान्वयनमा लैजान सुरक्षा निकाय सक्रिय भइसकेको भन्दै उहाँले निर्देशन उल्लंघन गर्नेलाई कानूनी दायरामा ल्याउने बताउनुभयो ।

प्रशासनले होलीका अवसरमा मेला तथा विभिन्न कार्यक्रमहरु गर्न पनि रोक लगाएको छ । कोरोनाको जोखिम बढेसँगै थप तयारी र निर्णय गर्न बिहीबार जिल्लास्थित सीसीएमसीको बैठक पनि बोलाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । गृह मन्त्रालयले कोरोनाको जोखिम बढेको भन्दै क्वारेन्टाइन र आइसोलेसन तयारी अवस्थामा राख्न निर्देशन दिएको छ ।

प्रहरीले माइकिङ गर्दा स्वास्थ्य सावधानी अपनाउन, भीड नगर्न भनिरहेको थियो । ठीक त्यहीबेला मुख्यमन्त्री राई भीडमा रंग दलेर रमाइरहनुभएको थियो । कार्यक्रममा न कसैको मुखमा मास्क थियो, न कसैले दुरी कायम गरेका थिए ।

बुधबार, ११ चैत, २०७७, साँझको ०७:३२ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर