रियल मड्रिड (एजेन्सी) । वेल्सका फरवार्ड ग्यारेथ बेलले सिजनको अन्त्यसँगै स्पेनिस क्लब रियल म्याड्रिड फर्कने योजना रहेको बताएका छन् । बेल गत समरमा एक सिजनका लागि लोनमा इंग्लिस क्लब टोटेनहम हटस्पर पुगेका थिए ।
सम्झौतामा स्थायी अनुबन्धको सर्त रहेपनि उनले म्याड्रिड नै फर्कने योजना बनाएका हुन् । ३१ वर्षीय बेलको रियलसँग सम्झौता २०२२ सम्म रहेको छ । उनले यो सिजन टोटेनहमका लागि २५ खेलमा १० गोल र ३ असिस्ट दिएका छन् । टोटेनहममा बेलले प्रशिक्षक जोसे मौरिन्होको मन जित्न नसक्दा पहिलो रोजाईमा पर्न सकिरहेका छैनन् । सोही कारण पनि उनले म्याड्रिड फर्कने योजना बनाएका हुन् ।
मेरो मुख्य योजना एक सिजन टोटेनहममा खेल्नु थियो । म्याड्रिडमा मेरो सम्झौता २०२२ सम्म छ । सिजनपछि नै म्याड्रिड फर्कने योजना छ ।’ बेलले भने, ‘पछिल्लो केही वर्ष मेरो फिटनेसमा समस्या रहेको थियो । टोटेनहममा त्यो पुरा गरे । मैले फ्रेस र फिटनेस अनुभव गरेको छु । अब फर्कने योजना छ ।
बेलले रियलका लागि २५१ खेलमा १०५ गोल र ६८ असिस्ट दिएका छन् । तर, उनी प्रशिक्षक जिनेदिन जिदानको नजरमा पर्न सकेका थिएनन् । जिदानको प्रशिक्षणमा बेलले २०१९–२० को सिजनमा मात्रै २० खेलमा मौका पाएका थिए ।