आइलिगमा किरण चेम्जोङको उत्कृष्ट प्रदर्शन

विराटनगर । राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ सम्मिलित राउन्डग्लास पन्जाब एफसीले आई लिगमा सोमबार जित हासिल गरेको छ ।

पन्जाबले कल्याणी रंगशालामा भएको खेलमा नेरोकालाई १–० ले हराएको छ ।

सेनेगलका पापा बाबाकार डेवाराको गोलमा पन्जाबले आइ लिगमा पाँचौं जित हासिल गरेको छ । डेवाराले ६५ औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बनेको थियो । उनले जोसेबा बेइतियाको फ्रिकिकमा गोल गरेका थिए ।

खेलमा कप्तान किरण म्यान अफ द म्याच चुनिए । उनले सातौं मिनेटमा नेरोकाका सोंग्पूको प्रहारलाई वन भर्सेस वनको स्थितिमा रोक्दै खेल बराबरीमा नै राखेका थिए । १४ औं मिनेटमा जुदा गार्सियाको शक्तिशाली प्रहारमा उनी नै बाधक बने ।

जितपछि पञ्जाब अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । १० खेलमा ५ जित र ३ बराबरीका साथ टोलीको १८ अंक छ । शीर्षस्थानमा रहेको चर्चिल ब्रदर्शको १० खेलमा २२ अंक छ । नेरोका ८ अंकसहित अंक तालिकाको पुछारबाट दोस्रो स्थानमा छ ।

अघिल्ला खेलहरुमा जस्तै किरणले पहिलो रोजाईमा टोलीको पोष्ट सम्हालेका थिए । दुई वर्षअघि किरण सम्मिलित पञ्जाबले आइ लिगको उपाधि जितेको थियो । गत सिजन भने कोरोनाका कारण सिजनको अन्त्यतिर लिग स्थागित भएको थियो ।

 

मङ्गलबार, १८ फागुन, २०७७, बिहानको ०९:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर