विराटनगर । निर्माण भएको लामो समयसम्म अलपत्र अवस्थामा रहेको मोरङको कटहरी गाउँपालिकास्थित फलफुल तथा तरकारी थोक बजार अब छिट्टै सञ्चालनमा आउने भएको छ । बजार सञ्चालन गर्ने उद्देश्यले प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र विराट कृषि उत्पादन तथा बजारीकरण विशिष्टिकृत सहकारी संघबीच सम्झौता भएको छ ।
कृषि बजारलाई व्यवस्थित गर्न नेपाल सरकारले दुई वर्षअघि नै मोरङको कटहरीमा कृषि थोक तथा खुद्रा बजार निर्माण गरेर प्रदेश सरकारलाई हस्तान्तरण गरेको थयो । तर सञ्चालनमा आउन नसकेपछि लामो समय अलपत्र रहनपुग्यो ।
विराटनगरको गुद्री बजारलाई व्यवस्थित गर्दै त्यसलाई कृषि बजारमा स्थानान्तरण गर्ने प्रयत्न सरकारले गरेको भएपनि त्यो उद्देश्य पुरा भएन । बरु विराटनगर बसपार्क पश्चिममा नयाँ गुद्री बजार स्थापना भयो । पुरानो गुद्री बजार अहिले पनि उस्तै स्वरुपमा सञ्चालनमा छ ।
गुद्री बजारलाई कटहरी स्थित कृषि बजारमा सार्ने सरकारी योजना अनुरुप व्यापारीहरु जान नमानेपछि बजार सञ्चालनमा आउन नसकी त्यतिकै रहेको थियो ।
कृषकले उत्पादन गरेको फलफूल तथा तरकारीलाई व्यवस्थित गरी बजारसम्म पु¥याउने उद्देश्यले संघीय सरकारले बजार निर्माणको अवधारणा ल्याएको हो । यसका लागि जनप्रीय माध्यमिक विद्यालय र कटहरी गाविसले आवश्यक जग्गा उपलब्ध गराएको थियो । जुन जग्गामा अहिले अत्याधुनिक कृषि थोक बजार निर्माण गरिएको छ । सो बजार संचालनकालागि मन्त्रालयले विराट कृषि उत्पादन तथा बजारीकरण विशिष्टीकृत सहकारीलाई जिम्मा दिएको मन्त्रालयका सचिव निरु दाहाल पाण्डेले बताउनुभयो । फागुन १ गतेबाट कृषि बजार सञ्चालनमा आउने सहकारीले जनाएको छ ।
प्रदेश सरकारले सम्झौता भएको मितिदेखि पाँच वर्षकालागि सो सहकारीलाई बजार संचालनको जिम्मा दिएको हो । जसबापत सहकारीले मन्त्रालयलाई वार्षिक १९ लाख २० हजार महशुल बुझाउनु पर्ने छ । बजार संचालनकालागि तयारी भइरहेको सहकारीका सचिव राकेश दाहालले जानकारी दिनुभयो । फागुन एक गतेदेखि बजार पूर्णरुपमा संचालनमा ल्याइने उहाले जानकारी दिनुभयो ।
बजारमा ४५ हजार मेट्रिक टन तरकारी र आठ हजार मेट्रिक टन फलफूल राख्ने क्षमता छ । १७ करोडको लागतमा निर्माण भएको बजारमा बजारमा थोक बिक्रेताका लागि ४० वटा र खुद्रा बिक्रेताका लागि ३५ वटा स्टलका साथै अत्याधुनिक प्रशासनिक भवन समेत छ । यो बजारबाट स्थानीय बजारमा तरकारी तथा फलफूल सजिलै उपलब्ध हुनुका साथै सुनसरी, मोरङ, झापा र धनकुटाका कृषक लाभान्वित हुनेछन् ।