श्रीलंकाबाट एमसीसी फिर्ता

विराटनगर । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) ले श्रीलंकासँगको पाँच वर्षे सहायता प्रस्ताव फिर्ता लिएको छ ।

गत वर्ष फागुनमा राष्ट्रहितमा नरहेको र सार्वभौमिकतामा असर गर्ने ठहर गर्दै श्रीलंका सरकारले एमसीसी अघि नबढाउने निर्णय गरेको थियो ।

वासिङ्टनमा मंगलबार भएको एमसीसीको बोर्ड अफ डाइरेक्टर्सको चौमासिक बैठकले श्रीलंकासँगको प्रस्तावित सम्झौतालाई निरन्तरता नदिने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । एमसीएसीको चौमासिक बैठकमा एमसीसी बोर्ड अफ डाइरेक्टर्सले अमेरिकी सहायता योग्य मुलुकहरु चयन गरेकोमा श्रीलंकासँगको प्रस्तावित सम्झौतालाई निरन्तरता नदिने निर्णय गरेको जनाइएको छ ।

नेपालमा जस्तै श्रीलंकामा पनि एमसीसी परियोजना विवादमा परेको थियो । श्रीलंकामा एससीसीले ४८ करोड अमेरिकी डलर अनुदान दिने जनाएको थियो । जसमा यातायात पूर्वाधार स्तरोन्नति र भूमि सुधार गर्ने परियोजना थिए ।

सन् २०१६ मै श्रीलंकाको कार्यक्रम छनौट भएपनि काम भने अघि बढ्न सकेको थिएन । एसीसीको मंगलबार बसेको बैठकले सियरा लियोनमा पाँच वर्ष परियोजनाका लागि अनुदान दिने निर्णय गरेको छ ।

यसअघिको श्रीलंकाली सरकार एमसीसीका पक्षमा थियो भने सन् २०१९ मा सत्तामा पुगेका गोताबाया राजापाक्षे भने विपक्षमा थिए । त्यस विषयमा विस्तृत अध्ययन गर्न उनले स्वतन्त्र कार्यदल बनाएका थिए । कार्यदलले गत जनवरीमा सम्झौता अस्वीकार गर्न सिफारिस गरेको थियो । त्यसैलाई मान्दै सरकारले सम्झौता अस्वीकार गरेको थियो ।

अक्टोबर अन्तिम साता अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले श्रीलंका भ्रमण गर्दा एमसिसीबारे श्रीलंकाली अधिकारीसँग छलफल गरेका थिए । त्यस क्रममा उनले चीनले श्रीलंकामा खराब सम्झौता गरेको र कानूनविहीनता ल्याएको आरोप लगाएका थिए । (एजेन्सीको सहयोगमा)

शुक्रबार, ०३ पुष, २०७७, बिहानको ११:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर